काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का नवनियुक्त महानिर्देशक मुकेश डंगोलले सोमबार पदभार ग्रहण गरेका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी स्वत निलम्बनमा परेका थिए ।
सरकारले अर्काे व्यवस्था नभएसम्मका लागि भन्दै शुक्रबार डंगोललाई महानिर्देशकको जिम्मेवारी दिएको थियो । सोमबार महानिर्देशक डंगोलले प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
उपमहानिर्देशक देवचन्द्र लाल कर्णले नवनियुक्त महानिर्देशक डंगोलका तथा हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका पर्यटन सचिव मुकुन्दप्रसाद निरौलालाई स्वागत गरेका थिए ।

