काठमाडौँ । सरकारले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ ।
आज चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आजै ३ बजे सपथग्रहण कार्यक्रम तय गरिएको छ ।
स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् । श्रद्धा नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
हाल १० सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीसहित आठवटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएकी छन् । परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा रहेका छन् ।
कार्की नेतृत्वको मन्त्रिपरिषदमा हाल रामेश्वर प्रसाद खनाल अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, ओमप्रकाश अर्याल गृह मन्त्री, अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्री रहेका छन् ।
यस्तै महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास मन्त्री, जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री रहेका छन् ।
केही मन्त्रीहरूलाई महत्वपूर्णसहित तीनवटासम्म मन्त्रालयको जिम्मेवारी दिइएको छ भने प्रधानमन्त्री स्वयंले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी छन् । मन्त्रालयको अत्यधिक कार्यभारका कारण कतिपय कामकारबाही अपेक्षित रूपमा चुस्त हुन नसकेको गुनासो पनि उठ्दै आएको छ । आज नियुक्त हुने नयाँ मन्त्रीको नामावली भने गोप्य नै राखिएको छ ।
जेन जेड आन्दोलन सुरु भएको करिब तीन महिना पुग्न लाग्दा प्रधानमन्त्री कार्कीको नेतृत्वमा शुक्रबार सरकार पाँचौँ पटक पुनर्गठन हुन लागेको हो । २०८२ भदौ २७ गते गठन भएको सरकार भदौ ३०, असोज ६ र कार्तिक ९ गते गरी चार पटक विस्तार भइसकेको छ ।

