२०८३, आश्विन २० गते

images

अमेरिकाबाट एकैदिन ७६ नेपाली डिपोर्ट

अमेरिकाबाट एकैदिन ७६ नेपाली डिपोर्ट

३० वर्षदेखि बस्दै आएका र पीआर नवीकरण नगरेकासमेत फर्काइए

शुक्रवार, पौष ४ २०८२०३:०३
शुक्रवार, पौष ४ २०८२०३:०३
  • images

    काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गरेको तथा आप्रवासन कानुनको पालना नगरेको आरोपमा ७६ जना नेपालीलाई एकैदिन डिपोर्ट गरेको छ। बिहीबार दिउँसो चार्टर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएको हो।

    डिपोर्ट हुनेमध्ये ३ जना महिला र ७२ जना पुरुष रहेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार अधिकांश नेपाली अवैध (तल्लो) बाटो हुँदै अमेरिका पुगेका थिए।

    डिपोर्ट गरिएकामध्ये भिजिट भिसामा गएर बसिरहेका २ जना पनि छन्। साथै, करिब ३० वर्षदेखि अमेरिका बस्दै आएका तर पीआर (स्थायी बसोबास अनुमति) कार्ड नवीकरण नगरेका एक व्यक्ति पनि डिपोर्ट भएका छन्।

    “फर्काइएकामध्ये केही ७ महिना देखि २ वर्षसम्म जेल सजाय भोगेर आएका छन्,” एसएसपी पंगेनीले बताए, “पीआर कार्ड नवीकरण नगरेको कारणले पनि डिपोर्ट भएको घटना छ।”

    उनका अनुसार डिपोर्ट भएका व्यक्तिहरूले अमेरिका पुग्न बिचौलियालाई १ करोड रुपैयाँसम्म बुझाएको बयान दिएका छन्। डिपोर्ट भई आएका नेपालीलाई अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाउने गरिएको छ।

    अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मात्रै ३० महिला सहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन्। ट्रम्पले सन् २०२५ जनवरी २० गतेदेखि औपचारिक रूपमा सत्ता सम्हालेका हुन्।

    ब्युरोका अनुसार पछिल्लो ७ वर्षमा अमेरिकाबाट ६६६ जना नेपाली डिपोर्ट भइसकेका छन्। यसअघि भदौ १९ गते र जेठ २५ गते अमेरिकाले ३७–३७ जना नेपालीलाई डिपोर्ट गरेको थियो।

    ट्रम्प राष्ट्रपति निर्वाचित भएसँगै आप्रवासन नीतिमा कडाइ गरिने घोषणा गरिएको थियो। अमेरिकी प्रशासनले १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजारभन्दा बढी आप्रवासीलाई देश निकाला गर्ने तयारी रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend