२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • शीतलहरबाट महोत्तरीका स्थानीय प्रभावित, जिल्लाका १५...

शीतलहरबाट महोत्तरीका स्थानीय प्रभावित, जिल्लाका १५ वटै पालिकाका विद्यालय बन्द

शीतलहरबाट महोत्तरीका स्थानीय प्रभावित, जिल्लाका १५ वटै पालिकाका विद्यालय बन्द

सोमवार, पौष १४ २०८२१०:५६
सोमवार, पौष १४ २०८२१०:५६
  • images

    काठमाडौँ । शीतलहरबाट महोत्तरीका स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् ।  पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले  विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् । 

    पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आजदेखि जाडो बिदाको सूचना आइतबार साँझ नै जारी गरेका छन् । सूचना जारी गर्ने स्थानीयतहले एक दिनदेखि पाँच दिनसम्म बिदा रहने जनाएका छन् । बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाले आज  एक दिन मात्र जाडो बिदाको सूचना जारी गरेको छ ।

    “भोलि मङ्गलबार तमु ल्होसार पर्वको सार्वजनिक बिदा नै छ, आज र भोलिसम्म मौसम सुध्रिनसक्ने आसले जाडो बिदा एक दिनमात्र भनेका हौँ” शिक्षा शाखा प्रमुख उपसचिव रेवतीप्रसाद पराजुलीले भने, “त्यसपछि मौसमअनुसार फेरि निर्णय गरिने छ ।” अधिकांशले भने तीन र पाँच दिन बिदा दिने जनाएका छन् ।

    “अहिले धेरै जाडो बढेको हुँदा शुक्रबारसम्मको बिदा दिने भनेका छौँ, बीचको मौसमअनुसार चाँडै विद्यालय खुल्न पनि सक्छन्” मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले भने । यसअघि जिल्लाका भङ्गाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले भने शीतलहर सुरु भएलगत्तै गत मङ्गलबार नै बिदाको सूचना जारी गरेका थिए । 

    बढ्दो जाडोले खासगरी आधारभूत तहका स–साना नानीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा बिदा दिने निर्णय गरिएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहको भनाइ छ । 

    “जाडो बढेको छ, स–साना नानी त विद्यालय आउनै  पनि छाडिसकेका छन् , यो अवस्थामा बिदा दिने निर्णय गरियो” उनले भने। स्थानीय तहहरुले यो जाडो बिदा बर्खे बिदामा मिलान गरिने स्पष्ट पारेका छन् । स्थानीयतहले बिदा सूचना अघिपछि जारी गरेपनि  जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका आधारभूत तहका विद्यालयमा गत मङ्गलबारदेखि नै बालबालिका जान छाडेका थिए ।  

    जिल्लाका करिब सबै भेगमा पछिल्लो एक सातायता बाक्लो हुस्सुले ढाक्दै आएको छ । पछिल्ला पाँच  दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभइ हाटबजारको चहलपहल पनि निकै घटेको छ । यो मौसमले खेतीपातीको काम पनि प्रभावित बनाएको किसानले बताएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend