२०८३, आश्विन २१ गते

images

देशमै पहिलोपटक ‘एकेडेमिक क्रेडिट’ प्रणाली

देशमै पहिलोपटक ‘एकेडेमिक क्रेडिट’ प्रणाली

त्रिविका विद्यार्थीले अब अतिरिक्त क्रियाकलापबाट पनि शैक्षिक अङ्क पाउने

सीएनएन खबर
आइतवार, माघ ११ २०८२१२:५६
सीएनएन खबर
आइतवार, माघ ११ २०८२१२:५६
  • images

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीको पढाइसँगै उनीहरूले गरेको अतिरिक्त क्रियाकलापलाई समेत औपचारिक रूपमा शैक्षिक अङ्कभारमा समावेश गर्ने नीति अघि सारेको छ। देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई ‘एकेडेमिक क्रेडिट’ का रूपमा शैक्षिक प्रमाणपत्रमा समावेश गर्ने तयारी गरिएको हो।

    विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीका अनुसार सामाजिक सेवा, विपद् व्यवस्थापन, खेलकुद, ललितकला, विज्ञान–प्रविधि, नवप्रवर्तन, उद्यमशीलता तथा व्यवस्थापनजस्ता क्षेत्रमा उत्कृष्ट योगदान र प्रदर्शन गर्ने विद्यार्थीले त्यसको मूल्याङ्कनपछि शैक्षिक अङ्क प्राप्त गर्नेछन्।

    डा.पराजुलीले स्पष्ट पारे, “केवल प्रतियोगिता वा कार्यक्रममा सहभागी भएको प्रमाणपत्र देखाएकै आधारमा अङ्क दिइँदैन। विद्यार्थीको सम्पूर्ण गतिविधि केन्द्रीय संयन्त्रमार्फत अनुगमन, अभिलेखीकरण र प्रमाणीकरण भएपछि मात्रै अङ्क प्रदान गरिनेछ।”

    यस प्रयोजनका लागि प्रत्येक क्याम्पसमा राष्ट्रिय सेवा योजना, राष्ट्रिय सेवा दल, उपकुलपति कप खेलकुद, ललितकला तथा विज्ञान, नवप्रवर्तन, प्रविधि र उद्यमशीलता कार्यक्रमका संयोजकहरूले हरेक सेमेस्टरमा विद्यार्थीको सहभागिता, संलग्न समय (घण्टा) र कार्यसम्पादनको आधिकारिक विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। ती विवरणहरू विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट प्रमाणीकरण गरिनेछ।

    साथै, विद्यार्थीका सम्पूर्ण गतिविधि, सहभागिता घण्टा र प्राप्त क्रेडिट अङ्क अभिलेख गर्न केन्द्रीय डिजिटल प्रणाली विकास गरिनेछ। गुगल फर्म र गुगल सिटमा आधारित एकीकृत ड्यासबोर्डमार्फत विद्यार्थीगत रूपमा आर्जित क्रेडिट, कार्यक्रमअनुसार आवश्यक घण्टा पूरा गरेका विद्यार्थी तथा क्याम्पसहरूबीचको तुलनात्मक अवस्था समेत देखिने व्यवस्था हुनेछ।

    केन्द्रीय रूपमा अनुगमन र प्रमाणीकरण भइसकेपछि मात्रै विद्यार्थीले पेस गरेको उपलब्धि शैक्षिक प्रमाणपत्रमा अङ्कका रूपमा समावेश गरिने त्रिविले जनाएको छ।

    यस नीतिले विद्यार्थीको समग्र ग्रेड वृद्धि मात्र नभई विभिन्न क्षेत्रमा लुकेका प्रतिभाको पहिचान, विकास र संस्थागत प्रोत्साहनमा समेत ठूलो योगदान पुग्ने डा.पराजुलीको विश्वास छ। विश्वविद्यालयले शैक्षिक कार्यक्रममा समावेश गरिसकेको राष्ट्रिय सेवा योजना, राष्ट्रिय सेवा दल, उपकुलपति कप खेलकुद, ललितकला तथा आइटिएई कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू यस प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।

    त्यसैगरी, हरेक केन्द्रीय विभागमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई शिक्षण सहायक वा अनुसन्धान सहायकका रूपमा नियुक्त गर्ने तथा विश्वविद्यालय बाहिर विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गरेका विद्यार्थीलाई भर्ना प्रक्रियामा विशेष सुविधा दिने नीति पनि प्रस्ताव गरिएको छ। हाल अवधारणापत्र तयारीको चरणमा रहेको यो नीति प्राज्ञिक परिषद्बाट पारित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउने डा. पराजुलीले जानकारी दिए।“देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभारमा समावेश गर्दैछौँ,” उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend