काठमाडौँ । विद्यालय र उच्च शिक्षाको ब्रिज कोर्स रोक्ने निर्णयको विरोध भएपछि शिक्षामन्त्री सस्मित पोखरेल ब्याक भएका छन्। सामाजिक सञ्जालमा सरकारको यो निर्णय अपरिपक्व रहेको भन्दै आलोचना भएको थियो। सोमबार सार्वजनिक भएको निर्णयमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा चलाउन रोक लगाएको निर्णय सार्वजनिक भएको थियो।
शिक्षामन्त्री पोखरेलले सामाजिक सञ्जालका आफ्ना खाताहरूबाट सार्वजनिक गरेको निर्णयमा समेत यही उल्लेख छ। तर यसको विरोध सुरु भएपछि भने उनले सबै तहको नभई एसइई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको दाबी गरे।
सोमबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूको प्रश्नमा उनले आफैले सार्वजनिक गरेको निर्णय ढाँट्दै एसइई दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको दाबी गरे।
विरोधपछि मङ्गलवारै शिक्षा मन्त्रालयले आफ्नो निर्णय मन्त्रालयको वेबसाइटबाट हटाएको थियो।

