२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एसईईको पहिलो दिनबाटै उत्तरपुस्तिका परीक्षण सुरु,...

एसईईको पहिलो दिनबाटै उत्तरपुस्तिका परीक्षण सुरु, तीन दिनमै सक्ने तयारी

एसईईको पहिलो दिनबाटै उत्तरपुस्तिका परीक्षण सुरु, तीन दिनमै सक्ने तयारी

बिहिवार, चैत्र १९ २०८२०१:४८
बिहिवार, चैत्र १९ २०८२०१:४८
  • images

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनको परीक्षा सम्पन्न भएसँगै उत्तरपुस्तिका परीक्षण (मूल्यांकन) सुरु गरिएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार बिहीबारदेखि सुरु भएको एसईईको उत्तरपुस्तिका परीक्षण पहिलो दिनकै परीक्षा सकिएपछि देशका विभिन्न स्थानमा सुरु गरिएको हो।

    बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षामा अंग्रेजी विषय समावेश थियो। परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि तुरुन्तै मूल्यांकन प्रक्रिया अघि बढाइएको अधिकारीले जानकारी दिए।उनले भने, “पहिलो दिनको परीक्षा सकिएपछि धेरै स्थानमा परीक्षण सुरु भएको रिपोर्ट आएको छ। परीक्षा भएको तीन दिनभित्र परीक्षणको काम सक्ने तयारी  गरिएको छ।”

    उत्तरपुस्तिका परीक्षण केन्द्राध्यक्षको नेतृत्वमा सञ्चालन हुने व्यवस्था गरिएको छ। निष्पक्षता कायम गर्न एउटै विद्यालयका शिक्षकले आफ्नै विद्यालयका विद्यार्थीको कापी जाँच गर्न नपाउने व्यवस्था गरिएको छ। “आफ्नो विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न मिल्दैन। त्यसका लागि फरक विद्यालयका शिक्षकलाई जिम्मेवारी दिनेगरी रोस्टर बनाइएको छ,” अधिकारीले बताए।

    परीक्षण कार्य सम्पन्न भएपछि करिब एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यस वर्ष एसईई परीक्षाका लागि पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका छन्। परीक्षा यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend