काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दुई दिने सार्वजनिक बिदाको व्यवस्थाबीच पनि पठनपाठन प्रभावित नहुने गरी तालिका व्यवस्थापन गर्न आफ्ना आंगिक क्याम्पस तथा सम्बन्धित कलेजहरूलाई निर्देशन दिएको छ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्रिविले सेमेस्टर प्रणाली तथा वार्षिक परीक्षा प्रणालीअन्तर्गतका कक्षाको निर्धारित ‘क्रेडिट आवर’ नघट्ने गरी पठनपाठन सञ्चालन गर्न विशेष ध्यान दिन भनेको हो।
त्रिविका अनुसार क्याम्पस तथा विभागहरूले कक्षा व्यवस्थापन गर्दा विद्यार्थीको पढाइमा कुनै असर नपर्ने गरी समयतालिका पुनःसमायोजन गर्नुपर्नेछ।
यसैबीच, त्रिवि कार्यकारी परिषदले कर्मचारीहरूको कार्यसमयसमेत निर्धारण गरेको छ। परिषद्को निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म दैनिक कम्तीमा सात घण्टा र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म दैनिक आठ घण्टा काम गर्नुपर्नेछ।
यस्तै, आंगिक क्याम्पस, विभाग र अस्पतालबाहेक अन्य कार्यालय तथा निकायहरूको नियमित कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। भने जाडो समय (कात्तिक १६ देखि माघ १५) मा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म रहने निर्णय गरिएको छ।

