काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरम ले विद्यालय सञ्चालन सम्बन्धमा महत्वपूर्ण निर्णय गर्दै शैक्षिक सत्र २०८३ का लागि भर्ना र पढाइ सुरु गर्ने मिति स्पष्ट गर्न आग्रह गरेको छ।
बुधबार ललितपुर महानगरपालिकामा बसेको मेयर्स फोरमले सो निर्णय गरेको हो । फोरमले जारी गरेको विज्ञप्तिअनुसार सरकारले तोकेको शैक्षिक सत्रसम्बन्धी निर्णय, शिक्षा नियमावली तथा संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै उपत्यकाभित्रका सबै पालिकालाई विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न आग्रह गरिएको हो।
फोरमले वैशाख ११ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ। यसअघि विभिन्न स्थानीय तहले फरक–फरक मितिमा शैक्षिक क्यालेन्डर लागू गर्दा अन्योलता सिर्जना भएको भन्दै एकरूपता आवश्यक भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन र संविधानले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिएको सन्दर्भमा विद्यालय सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी जिम्मेवारी पालिकाहरूमा नै रहेको स्मरण गराइएको छ।
त्यस्तै, सर्वोच्च अदालतमा विचाराधीन मुद्दा, विभिन्न पालिकाहरूको फरक अभ्यास तथा शिक्षक र अभिभावक संघबाट आएका सुझावहरूलाई समेत ध्यानमा राख्दै विद्यार्थी सिकाइमा हुने सम्भावित असर न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको फोरमले जनाएको छ।
फोरमले इन्धन संकटको सम्भावनालाई समेत ध्यानमा राख्दै आगामी दिनमा विद्यालय सञ्चालन प्रभावित हुन सक्ने अवस्था आएमा वैकल्पिक उपाय—जस्तै अनलाइन कक्षा सञ्चालन—का लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।
उपत्यकाभित्रका पालिकाहरूबीच शैक्षिक नीतिमा एकरूपता ल्याउने उद्देश्यसहित गरिएको यस निर्णयले विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन सबैलाई स्पष्टता दिने अपेक्षा गरिएको छ।

