काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघ का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई स्वागत तथा सम्मान गरेको छ।
आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा आयात प्रतिस्थापनका लागि पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै सरकारले पूर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
उनले सडक, ऊर्जा, जलस्रोत, शहरी विकास तथा औद्योगिक पूर्वाधारमा दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै यस्ता परियोजनामा लगानी र कार्यान्वयन तीव्र बनाउन सरकारलाई आग्रह गरे।
निर्माण क्षेत्रमा कार्यरत व्यवसायीले समयमै भुक्तानी नपाउँदा परियोजना प्रभावित हुने समस्या बढ्दै गएको उनको भनाइ थियो। “सरकारले कर्मचारीलाई १५ दिनभित्र तलब दिने प्रतिबद्धता जनाएको छ भने त्यसैगरी पूर्वाधार विकासमा योगदान दिने निर्माण व्यवसायीलाई पनि समयमै भुक्तानी दिनुपर्छ,” उनले भने।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले आर्थिक विकासको लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको बताए। उनले निजी क्षेत्रका समस्या सुनेर समाधान गर्ने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरे।
त्यसैगरी महासंघका अध्यक्ष निकोलस पाण्डेले विकासशील राष्ट्रका लागि पूर्वाधार नै आर्थिक प्रगतिको मेरुदण्ड भएको उल्लेख गरे।उनले निर्माण व्यवसायीले ढिला भुक्तानी, जटिल प्रशासनिक प्रक्रिया र लागत वृद्धिका चुनौती भोगिरहेको उल्लेख गर्दै यी समस्याको समाधानमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।
साथै, निजी क्षेत्रप्रति सरकारी व्यवहार अपेक्षाअनुसार सहयोगी नभएकाले व्यवसायीमा निराशा बढ्दै गएको उनले बताए।

