काठमाडौँ । काठमाडौं । विश्वविद्यालयका पदाधिकारी हटाउने उद्देश्यसहित सरकारले अध्यादेश सिफारिस गरेपछि उपकुलपतिहरूको राजीनामा श्रृंखला सुरु भएको छ। सोही क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि पदबाट राजीनामा दिएका छन्।
उपकुलपति नेपालले शुक्रबार राजीनामा दिएको पुष्टि गर्दै आफ्नो राजीनामा वैशाख २२ गतेबाट लागू हुने बताएका छन्। “हिजो राजीनामा दिएको छु, २२ गतेबाट लागू हुने गरी दिएको हो। बीचमा दुई दिन बिदा परेको छ, २१ गते विश्वविद्यालयमा बिदाइ कार्यक्रम हुन्छ,” उनले भने।
प्रा.डा. नेपाललाई २०८१ पुस ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेका थिए।
यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले पनि राजीनामा दिइसकेका छन्। गत वैशाख १७ गते उपकुलपति प्रा.डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले सामूहिक रूपमा पद त्याग गरेका थिए।
सरकारले राजनीतिक नियुक्ति हटाउने तयारीस्वरूप अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएपछि पदाधिकारीहरू दबाबमा परेको विश्लेषण गरिएको छ। दुई तिहाइ नजिकको जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएको थियो।
यसबीच सरकारले सिफारिस गरेको अध्यादेशमाथि राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेका छन्। अध्यादेश जारी हुने–नहुने विषयमा राष्ट्रपति कार्यालयको निर्णय कुरिरहँदा विश्वविद्यालयहरूमा पदाधिकारीको बहिर्गमन तीव्र बनेको छ।

