काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि देशभर कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा एक महिनाभित्रै सार्वजनिक हुने तयारी भएपछि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन समयमै सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै विद्यालय तथा स्थानीय तहलाई आवश्यक सूचना प्रवाह गर्न निर्देशन दिएको जनाएको छ । यसअघि एसईईको नतिजा प्रकाशन र कक्षा ११ को अध्ययन सुरु हुने समयबारे विद्यार्थी तथा अभिभावकमाझ अन्योलता रहेको थियो ।
मन्त्रालयका अनुसार शैक्षिक सुशासन कायम गर्दै विद्यालय तहको पठनपाठनलाई व्यवस्थित र प्रभावकारी बनाउन नतिजा प्रकाशनपछि तत्कालै नयाँ कक्षाको अध्ययन सुरु गर्ने नीति लिइएको हो । समयमै कक्षा सञ्चालन हुँदा विद्यार्थीको शैक्षिक निरन्तरता कायम हुने, अध्ययनको समय खेर नजाने तथा विद्यालय शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।
त्यस्तै, कक्षा ११ को पठनपाठन असार १ गतेदेखि नियमित रूपमा सुरु गर्दा विद्यालय तहका सबै कक्षामा शैक्षिक गतिविधिको एकरूपता कायम हुने मन्त्रालयको भनाइ छ

