काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यन) का नवनियुक्त महानिर्देशक मुकेश डंगोलले पदबहाली गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ ११ गतेको निर्णयअनुसार डंगोलले बुधबार पदबहाली गरेका हुन् ।
जेठ १३ गते प्राधिकरण मुख्यालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै महानिर्देशक डंगोलले नेपालको हवाई क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउन सबै कर्मचारी तथा सरोकारवालालाई एकताबद्ध भएर काम गर्न निर्देशन दिएका हुन् ।
पदबहालीपछि सम्बोधन गर्दै उनले नागरिक उड्डयन क्षेत्र देशको आर्थिक, पर्यटन तथा अन्तर्राष्ट्रिय छविसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए ।
उनले प्राधिकरणभित्र सुशासन, संस्थागत सुधार, सुरक्षा मापदण्डको कडाइ तथा प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “हवाई सुरक्षालाई थप मजबुत बनाउँदै अन्तर्राष्ट्रिय स्तरको विश्वास कायम गर्नु हाम्रो साझा दायित्व हो,” उनले भने, “यसका लागि कर्मचारी, एयरलाइन्स कम्पनी, नियामक निकाय र अन्य सरोकारवाला सबैबीच समन्वय र सहकार्य आवश्यक छ ।”
महानिर्देशक डंगोलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलको सेवा गुणस्तर सुधार, पूर्वाधार विकास तथा यात्रुमैत्री व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिने बताए ।
पदबहाली कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वसँग नागरिक उड्डयन क्षेत्रमा देखिएका चुनौती समाधान, अन्तर्राष्ट्रिय उडान विस्तार तथा हवाई सुरक्षामा थप सुधार हुने अपेक्षा व्यक्त गरेका थिए ।

