काठमाडौँ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आज मन्त्रालयको पदभार ग्रहण गर्दै विज्ञान र प्रविधिको विकासलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा मन्त्री पुनले विज्ञान र प्रविधिको क्षेत्रलाई देशको विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न आफू पूर्ण रूपमा समर्पित रहने बताए ।
उनले विज्ञान तथा प्रविधिको काम परम्परागत सरकारी शैलीमा अघि बढ्न नसक्ने उल्लेख गर्दै परिणाममुखी कार्यशैली अपनाइने स्पष्ट पारे ।
“विज्ञान–प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो,” मन्त्री पुनले भने ।
उनले आफू मन्त्री पदमा लामो समय रहने सोच नभएको पनि बताए । सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफू बढीमा तीन वर्ष मात्रै मन्त्रालयमा रहने योजना रहेको उल्लेख गर्दै बाँकी समय नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण निर्माण गर्ने बताए ।
“म यो मन्त्रीको पदमा धेरै बस्दिनँ। सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो,” उनले भने ।
आफ्नो कार्यकालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा बलियो आधार तयार पारेर भावी पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य रहेको मन्त्री पुनको भनाइ थियो। विज्ञान तथा नवप्रवर्तन मन्त्रालय नयाँ भएकाले धेरै काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
“अरु मन्त्रालयका आफ्नै स्थापित संरचना र नियम छन्। यो मन्त्रालय र मन्त्री दुवै नयाँ भएकाले धेरै काम शून्यबाट सुरु गर्नुपर्नेछ, आवश्यक नीति तथा नियम निर्माण गर्नुपर्नेछ,” उनले भने ।
मन्त्री पुनले अनुसन्धान, नवप्रवर्तन, सूचना प्रविधि तथा वैज्ञानिक सोचको विकासमार्फत देशलाई आधुनिक र प्रतिस्पर्धी बनाउन मन्त्रालयले विशेष प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

