काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखाना बर्ड फ्लु संक्रमण देखिएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सञ्चालित सदर चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएको जनाएको हो। आम दर्शकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको सूचनामा उल्लेख छ।
चिडियाखाना प्रशासनका अनुसार संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाइएको छ। संक्रमण नियन्त्रण तथा थप परीक्षणको प्रक्रिया पूरा नभएसम्म सर्वसाधारणलाई प्रवेश निषेध गरिएको जनाइएको छ।
सदर चिडियाखानाले चिडियाखाना बन्द हुँदा दर्शकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
नेपालकै प्रमुख पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा रहेको सदर चिडियाखाना दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र मानिन्छ। बर्ड फ्लु संक्रमण देखिएपछि चिडियाखाना बन्द गरिएसँगै नियमित भ्रमण तथा अवलोकन कार्यक्रम प्रभावित हुने भएका छन्।
संक्रमण नियन्त्रण तथा स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक कार्य सम्पन्न भएपछि चिडियाखाना पुनः सञ्चालनबारे अर्को सूचना जारी गरिने चिडियाखाना प्रशासनले जनाएको छ।

