२०८३, आश्विन २० गते

images
  • समाचार
  • साउन १ देखि बागमतीमा लाइसेन्स शुल्क...

साउन १ देखि बागमतीमा लाइसेन्स शुल्क दोब्बर, कुन वर्गमा कति तिर्नुपर्छ ?

साउन १ देखि बागमतीमा लाइसेन्स शुल्क दोब्बर, कुन वर्गमा कति तिर्नुपर्छ ?

मंगलवार, आषाढ १६ २०८३०३:४२
मंगलवार, आषाढ १६ २०८३०३:४२
  • images

    काठमाडौं । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन, नवीकरण गर्न तथा नयाँ वर्ग थप गर्न चाहने सेवाग्राहीले अब दोब्बर शुल्क तिर्नुपर्ने भएको छ। बागमती प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी सबै शुल्कमा शतप्रतिशत वृद्धि गरेको हो। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याइएको आर्थिक विधेयकमार्फत आवेदन, नवीकरण तथा वर्ग थप दस्तुर बढाइएको छ।

    नयाँ व्यवस्थाअनुसार लाइसेन्स आवेदन शुल्क ५०० रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ कायम गरिएको छ। त्यसैगरी मोटरसाइकल तथा स्कुटर (ए वर्ग) को लाइसेन्स तथा नवीकरण शुल्क १ हजार ५ सयबाट ३ हजार रुपैयाँ पुगेको छ।

    कार, जिप, भ्यान (बी वर्ग), टेम्पो (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) को शुल्क २ हजारबाट ४ हजार रुपैयाँ कायम गरिएको छ। ट्रयाक्टर (ई वर्ग) र मिनीबस र मिनी ट्रक (एफ वर्ग) को शुल्क २ हजार ५ सयबाट ५ हजार रुपैयाँ पुर्‍याइएको छ।

    यस्तै जी, एच, आई र जे वर्ग अन्तर्गत पर्ने ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर तथा ग्रेडर सञ्चालनका लागि लाइसेन्स तथा नवीकरण शुल्क ३ हजारबाट बढाएर ६ हजार रुपैयाँ कायम गरिएको छ।

    पहिलेदेखि रहेको लाइसेन्समा नयाँ वर्ग थप गर्न चाहने सेवाग्राहीका लागि पनि शुल्क बढाइएको छ। एदेखि एफ वर्गसम्म वर्ग थप गर्दा अब १ हजार रुपैयाँ तिर्नुपर्नेछ, जुन यसअघि ५०० रुपैयाँ थियो। जीदेखि जे वर्गसम्म वर्ग थप गर्न भने १ हजारबाट बढाएर २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रदेश सरकारले शुल्कमा उल्लेख्य वृद्धि गरे पनि लाइसेन्सको वैधता अवधि भने हालकै १० वर्ष कायम राखेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend