२०८३, आश्विन २१ गते

images
  • शिक्षा
  • ब्रिटिस काउन्सिलले जुटायो दक्षिण एसियाका शिक्षा...

ब्रिटिस काउन्सिलले जुटायो दक्षिण एसियाका शिक्षा विज्ञ, सिर्जनशील शिक्षणमा केन्द्रित सम्मेलन

ब्रिटिस काउन्सिलले जुटायो दक्षिण एसियाका शिक्षा विज्ञ, सिर्जनशील शिक्षणमा केन्द्रित सम्मेलन

मंगलवार, श्रावण ५ २०८३०४:५३
मंगलवार, श्रावण ५ २०८३०४:५३
  • images

    काठमाडौँ । दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता र शिक्षा विज्ञलाई एकै मञ्चमा ल्याउँदै अंग्रेजी भाषा शिक्षणलाई सिर्जनशील, समावेशी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ब्रिटिस काउन्सिलले ‘साउथ एसिया टिचिङ इङ्लिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ।

    जुलाई २३ देखि २५ सम्म सञ्चालन हुने तीनदिने निःशुल्क अनलाइन सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरूले बदलिँदो विश्व परिवेशमा विद्यार्थीलाई आवश्यक सिर्जनशीलता, आलोचनात्मक सोच, प्रभावकारी सञ्चार तथा सहकार्यका सीप कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा अनुभव र अनुसन्धानमा आधारित दृष्टिकोण प्रस्तुत गर्नेछन्।

    ब्रिटिस काउन्सिलका अनुसार दक्षिण एसियाली शिक्षण प्रणालीले पाठ्यक्रम, प्रभावकारी मूल्याङ्कन र विद्यार्थीका बदलिँदा आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती सामना गरिरहेको अवस्थामा सम्मेलनले त्यसका व्यावहारिक समाधान खोज्ने प्रयास गर्नेछ। सम्मेलनमा अंग्रेजी भाषा शिक्षणलाई केवल भाषिक सीपमा सीमित नराखी विद्यार्थीको स्वःक्षमता, सहभागिता र सिकाइप्रतिको स्वामित्व अभिवृद्धिमा केन्द्रित शिक्षण पद्धतिबारे पनि व्यापक छलफल हुनेछ।

    सम्मेलनमा विविध भाषिक पृष्ठभूमिका विद्यार्थी अध्ययनरत कक्षाकोठालाई थप समावेशी बनाउने उपाय, नवप्रवर्तनमुखी शिक्षण अभ्यास, विद्यार्थीको आवाजलाई सशक्त बनाउने रणनीति तथा कृत्रिम बुद्धिमत्ता (एआई)लाई शिक्षकको विकल्प नभई प्रभावकारी सहायक उपकरणका रूपमा प्रयोग गर्ने विषयमा विशेष सत्र सञ्चालन गरिनेछ।

    मुख्य प्रस्तुति, प्यानल छलफल, कक्षाकोठाका व्यवहारिक अनुभव र उत्कृष्ट अभ्यासमार्फत सहभागीहरूले दक्षिण एसियामा प्रयोग भइरहेका सफल शिक्षण मोडेल, अनुसन्धानका निष्कर्ष तथा आफ्नै विद्यालयमा लागू गर्न सकिने व्यवहारिक उपायबारे जानकारी प्राप्त गर्नेछन्।

    ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले अहिलेको विश्व परिवेशमा विद्यार्थीलाई सफल बनाउन प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप अत्यावश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सिर्जनशील शिक्षण पद्धतिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

    उहाँले सम्मेलनले अनुसन्धानमा आधारित दृष्टिकोण, व्यवहारिक रणनीति तथा कक्षाकोठामा कार्यान्वयन गर्न सकिने नवीन शिक्षण अभ्यासबारे दक्षिण एसियाका शिक्षक तथा सरोकारवालाबीच अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

    सम्मेलनमा श्रीलंकाकी अञ्जु मोसेस र मिथिला वीरासिंघे, भारतका हुमा हसना रियाज अहमद, डा. अमोल पदवाद, निसार शेख र सुसाई रथिनम, बंगलादेशका डा. एम.डी. मोस्ताफिजुर रहमान र डा. एम.डी. मोहिव उल्लाह, पाकिस्तानकी रविया शफी र डा. फौजिया शमिम तथा नेपालका शोभा भट्टराई, आस्था कुमारी चौधरी र कृष्ण आर.सी. लगायतका विज्ञहरूको सहभागिता रहनेछ।

    ब्रिटिस काउन्सिलले सम्मेलनमा सहभागी हुन इच्छुक शिक्षक, प्रशिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका सरोकारवालालाई निःशुल्क दर्ता गरी सहभागी हुन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend