काठमाडाैँ । इम्बार्क कलेजको पहलमा कलेज परिसरअगाडि पुल्चोक, ललितपुरमा निर्माण गरिएको सार्वजनिक पार्कको आज ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले औपचारिक रूपमा उद्घाटन गरेका छन् ।
सहरको अत्यन्त महत्त्वपूर्ण स्थानलाई सुन्दर बनाउँदै हरियाली र पानीको फोहरामार्फत शान्त वातावरण सिर्जना गर्ने उद्देश्यले पार्क निर्माण गरिएको हो। बढ्दो सहरीकरणका कारण उपत्यकामा खुला तथा हरित क्षेत्रहरू घट्दै गइरहेको अवस्थामा यस्ता स्थानहरूले समुदायको स्वास्थ्य तथा वातावरणीय दिगोपनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
पार्कमा स्थानीय प्रजातिका फूल तथा बिरुवाहरू रोपिएका छन्। साथै, दीर्घकालसम्म सहज रूपमा व्यवस्थापन र संरक्षण गर्न सकिने गरी यसको निर्माण गरिएको छ। कलेजले यस परियोजनालाई आफ्नो शैक्षिक भूमिकासँगै समुदाय र वातावरणप्रतिको निरन्तर जिम्मेवारीको एक हिस्साका रूपमा लिएको छ।
इम्बार्क कलेजका सह-संस्थापक तथा कार्यकारी निर्देशक आशिष ठाकुरले दिगोपन, हरित भविष्य र स्थानीय पूर्वाधार सुदृढीकरणप्रतिको प्रतिबद्धताअनुसार कलेजले पार्कको निर्माण तथा व्यवस्थापनको जिम्मेवारी लिएको बताए ।
“यो हाम्रो यस्तो पहिलो प्रयास हो, तर अन्तिम होइन,” उनले भने,“आगामी दिनमा पनि हामी ललितपुर महानगरपालिकासँग निकट सहकार्य गर्दै थप महत्त्वपूर्ण परियोजनाहरूमा काम गर्नेछौँ।”
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस पहलका लागि इम्बार्क कलेजलाई धन्यवाद दिए । उनले भविष्यमा पनि यस्ता सहकार्यका थप अवसरहरूका लागि ललितपुर महानगरपालिका खुला रहेको बताए ।
उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रतिनिधिहरू, कलेजका संस्थापकहरू, प्राध्यापकहरू, विद्यार्थीहरू, अभिभावकहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

