काठमाडौँ । बाढी तथा प्राकृतिक विपत्तिले थलिएका परिवारका बालबालिकाको शिक्षा नरोकिने गरी अरुण चौधरी फाउन्डेसनले ठूलो सहयोग प्रतिबद्धता जनाएको छ। फाउन्डेसनले जम्मा ११ करोड २२ लाख रुपैयाँ बराबरको सहयोग र छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो।
बाढीले घरबार र सम्पत्ति गुमाएका परिवारका ४० जना विद्यार्थीले फाउन्डेसनबाट पूर्ण छात्रवृत्ति पाउनेछन्। यसअन्तर्गत केवल शुल्क मात्र नभई पुस्तक, पोशाक, यातायात र भोजनसमेत सबै शैक्षिक खर्च समेटिने भएको छ, साथै ५ जना विद्यार्थीका लागि छात्रावासको व्यवस्था पनि मिलाइनेछ।
छात्रवृत्ति कार्यक्रमअन्तर्गत काठमाडौं वर्ल्ड स्कुलका ३० जना विद्यार्थीका लागि १० करोड ११ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराइनेछ भने प्रिमियर कलेजका १० जना विद्यार्थीका लागि १ करोड बराबरको छात्रवृत्ति प्रदान गरिनेछ। भक्तपुरको सूर्यविनायकस्थित गुण्डुमा रहेको काठमाडौं वर्ल्ड स्कुल नेपालको उत्कृष्ट विद्यालयको रूपमा परिचित छ, र दुवै संस्था आईएसओ प्रमाणित शैक्षिक संस्थाका रूपमा चिनिन्छन्, जसले हजारौं दक्ष जनशक्ति उत्पादन गरिसकेका छन्।
छात्रवृत्तितर्फ मात्रै ११ करोड ११ लाख बराबरको सहयोग पुग्ने फाउन्डेसनले जनाएको छ। नगद सहयोग तथा अन्य राहतसम्बन्धी योगदानसमेत जोड्दा कुल प्रतिबद्धता ११ करोड २२ लाख पुगेको पत्रमा उल्लेख छ। फाउन्डेसनले बाढीबाट प्रभावित बालबालिकालाई आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नदिने उद्देश्यले नै यो छात्रवृत्ति कार्यक्रम अघि बढाएको जनाएको छ।
छात्रवृत्तिबाहेक फाउन्डेसनले भोटेकोशी बाढी प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ नगद सहयोग गर्ने पनि जनाएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सम्बोधन गर्दै पठाइएको पत्रमा विपद्पछि तत्काल राहत सामग्री उपलब्ध गराउनुका साथै दीर्घकालीन सहयोगका लागि उक्त रकम कोषमा योगदान गरिने उल्लेख गरिएको छ।
यस सहयोगमा कर्मचारीहरूको एकमुष्ट योगदान १४ लाख ७५ हजार १५९ रहेको छ भने विभिन्न व्यावसायिक क्षेत्रसँग मिलेर गरिएको संस्थागत योगदान ८६ लाख २४ हजार ८४१ रहेको छ। फाउन्डेसनका २३ कम्पनीका विभिन्न तहमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब स्वेच्छाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेका छन्।
फाउन्डेसनका सञ्चालक अरुण चौधरीका अनुसार विपत्तिले बालबालिकाको घर, परिवार र भविष्यसँग जोडिएका धेरै आधार प्रभावित पारेकाले उनीहरूको शिक्षा पुनःस्थापना गर्नु नै दीर्घकालीन पुनर्निर्माणको महत्वपूर्ण हिस्सा हो। राहतलाई केवल तत्कालीन सहयोगका रूपमा मात्र सीमित नराखी प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापना र शिक्षाको निरन्तरतामा समेत योगदान पुर्याउने चौधरीको प्रतिबद्धता रहेको छ।

