काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूले पेसागत वृत्तिविकासको माग राख्दै त्रिवि स्मृति भवनअघि धर्ना दिएका छन्। कुलपति तथा प्रधानमन्त्री केपी ओली त्रिवि सभाको साधारण बैठकमा सहभागी हुन आउनुअघि कर्मचारीहरूले धर्ना दिएका हुन्।
धर्ना दिनेहरूमा त्रिवि शिक्षण अस्पतालका नर्स, प्राविधिक तथा इन्जिनियरिङ क्याम्पसका शिक्षक र कर्मचारी, त्रिविका विभिन्न विभागहरूमा कार्यरत कर्मचारीलगायत छन्। उनीहरू आफ्नो वृत्तिविकास नभएको र राज्यले दिनुपर्ने सुविधा नदिएको भन्दै प्रधानमन्त्रीलाई दबाब दिन धर्ना बसेका हुन्।
बिहान ११ः३० बजेदेखि सुरु भएको त्रिवि साधारण बैठकमा प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत सहभागी छन्। प्रधानमन्त्री ओलीले नै रोकेको नीति तथा कार्यक्रम पनि आज सभामा पेस भएको छ। १२बुँदे नीति तथा कार्यक्रम उपकुलपति प्राडा केशरजंग बरालले प्रस्तुत गरे।
त्रिविले नीति तथा कार्यक्रम पेस नगरी १५ साउनमा बजेट ल्याएको थियो। तर, नीति तथा कार्यक्रममा केही अप्ठ्यारा योजना रहेको भन्दै प्रधानमन्त्रीले रोकेका थिए।

