काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान/अवतरण प्रतिबन्ध गर्ने निर्णयलाई खारेज गरेको छ। हेलिकप्टर कम्पनी सञ्चालकलाई उडान गर्न दिने/नदिने निर्णय गर्ने अधिकार क्यानमा मात्र निहित रहेको भन्दै प्राधिकरणले निकुञ्ज कार्यालयको निर्देशन कार्यान्वयन नहुने बताएको हाे।
समग्र पर्यटन र प्राकृतिक जीवनशैली नै प्रभावित भएको भन्दै निकुञ्जले यही बुधबार ११ वटा हेलिकप्टर कम्पनीलाई निकुञ्ज क्षेत्रमा आगामी जनवरी १ देखी व्यवसायिक उडान प्रतिबन्ध हुने भन्दै पत्र काटेको थियो। सोही निर्णय पछि हेलिकप्टर कम्पनी सञ्चालकहरू बिहीबार प्राधिकरण पुगेका थिए।
यसै क्रममा प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निकुञ्जले व्यवसायीक हेलिकप्टर उडान÷अवतरण रोक लगाउने निर्णयको कुनै आधार नभएको उल्लेख गरेको छ। त्यस्तै प्राधिकरणबाट कुनै निर्णय नहुन्जेल उक्त क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्बाध र नियमित व्यवसायिक उडान सञ्चालन गर्न÷गराउन सम्पूर्ण हेलिकप्टर कम्पनी लगायत सरोकारवाल निकायलाई प्राधिकरणले अनुरोध गरेको छ।

