काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनका प्रतिनिधि त्रिभुवन विश्वविद्यालय रेक्टरको कार्यालयमा धर्नामा बसेका छन् ।
१० बुँदे माग राख्दै क्रान्तिकारीसहित अनेरास्ववियू, अखिल (छैटौँ), अखिल (समाजवादी) र नेपाल समाजवादी विद्यार्थी युनियन संयुक्त रूपमा धर्ना बसेका हुन् ।
विगतदेखि दलगत भागबण्डाको चपेटामा परेको विश्वविद्यालय पटक-पटक अनिर्णयको बन्दी हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउँदै आएको र जसका कारण विश्वविद्यालयको नीतिगत शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै कुरालाई मध्यनजर गर्दै विश्वविद्यालयमा मेरिटोक्रेसिको आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरिनु आजको आवश्यकता रहेको छ । यो प्रकियाले पूर्णता नपाउँदै सरकारको हस्तक्षेप पूर्ण गतिविधि र विश्वविद्यालयका पदाधिकारी स्वयमको मेरिटोक्रेसिविरुद्धको गतिविधिले फेरि पनि दलगत भाडबण्डालाई प्रोत्साहन गरी विश्वविद्यालयलाई अराजकता तिर धर्केलेको प्रस्ट हुन जान्छ । तसर्थ विद्यार्थी संगठन यस कार्य प्रति आपत्ति जनाउँदै घोर भर्त्सना गर्दछ ।’

