काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरण छिरेपछि अर्बौँ नोक्सानीमा रहेको प्राधिकरण नाफामा गएको बताईएको छ ।
शुक्रबार मात्रै प्राधिकरणले चालू आर्थिक वर्षकाे ६ महिनामा मात्रै ११ अर्ब बढी नाफा भएको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको जनाएको हो ।
सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी, चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
प्राधिकरणले ८ अर्ब ८९ करोड वार्षिक नोक्सानी रहेको प्राधिकरण कुलमान आएपछि नाफामा जान थालेको जनाएको छ । उनी प्राधिकरण भित्रिएकै वर्ष झन्डै ९ अर्ब नोक्सानीमा रहेको प्राधिकरणले डेढ अर्ब नाफा कमाएको थियो ।
प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार कुलमान भित्रिएको वर्ष आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ४४ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८१ करोड रुपैयाँ, २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७८/०७९ मा १३ अर्ब ३७ करोड, आर्थिक वर्ष २०७९/८० मा ९ अर्ब ४१ करोड रुपैयाँ र आर्थिक वर्षमा ११ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
८ वर्षदेखि अर्बौँ नाफा, तर तिर्दैन सरकारलाई कर
प्राधिकरणले वार्षिक अर्बौँ नाफा रहेको तथ्यांक जारी गरि रहँदा राज्यलाई तिर्नुपर्ने कर भने शून्य रहेको पाइएको छ । वार्षिक रुपमा अर्बाे नाफामा रहेको प्रचार गरिरहँदा कुलमानले राज्यलाई भने नोक्सानको परिपूर्ति गरेको भन्दै ८ वर्षदेखि ढाट्दै आएका छन् ।
पछिल्लो समय सर्वसाधारणका लागि प्रिमियममा सेयर निष्कासन गर्न लागिपरेका घिसिङ कागजी नाफाको प्रचारबाजीमा छन् ।
उनी प्राधिकरण आएपछि हालसम्म प्राधिकरणले निर्माण गरेका ठूला आयोजनाबाट विद्युत उत्पादन भएका छैनन् । निजी क्षेत्रका उर्जा उत्पादकहरुबाट सस्तोमा बिजुजी ल्याएर उनले सर्वसाधारणलाई महंगोमा बिक्री गर्दै आएका छन् ।
निजी क्षेत्रका उर्जा उत्पादकले प्राधिकरण बाहेक अन्यलाई बिजुली बिक्री गर्नुपर्ने (पीपीएमा मनोपोली) बाध्यताको फाइदा कुलमानले पाएका छन् । उनी पहिलो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्ती भएकै वर्ष निजी क्षेत्रबाट उत्पादीत इनर्जी खरिद गरेर लोडसेडिङ हटाएका थिए । निजी क्षेत्रको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिनु, भारतबाट आयात गर्नु र ओद्योगिक क्षेत्रमा दिईएको विजुली कटौती गरेर उनले लोडसेडिङ हटाएका थिए ।
उनले लोडसेटिङ मुक्त भएको भनिरहँदा औद्योगिक क्षेत्रमा अझै पनि दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ भैरहेको छ भने अहिलेपनि ३६ प्रतशित बिजुली भारतबाटै आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

