काठमाडौँ । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १३ मन्त्रीको शपथ ग्रहण आज (बुधबार) हुँदैछ ।
मंगलबार मुख्यमन्त्रीमा नियुक्ति भएका लामाको शपथ आज हुन लागेको हो । यससँगै एमालेका र कांग्रेसबाट १३ सदस्य मन्त्रिपरिषद् समेत आजै गठन हुने छ ।
जसका लागि एमालेले आफ्नो भागमा परेका ६ वटा मन्त्रालय र मन्त्रीहरुको नाम मंगलबार नै टुङ्ग्याइसकेको छ ।
एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास, शुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन, कुमार मास्केलाई भौतिक पूर्वाधार, कृष्ण सिलवाललाई वन तथा वातावरण र प्रेमभक्त महर्जनर्ला श्रम रोजगार तथा यातायातमन्त्री बनाउने तयारी गरेको छ ।
नेपाली कांग्रेसको भागमा मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय परेको छ । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीले शपथ ग्रहण गर्नेछन् ।
कांग्रेसले भने मङ्गलबार मध्यरातमा आफ्ना मन्त्रीहरूको नाम टुङ्गो लगाए पनि हालसम्म नाम सार्वजनिक गरेको छैन ।

