काठमाडौँ । कोशी प्रदेशले पहिलो लगानी सम्मेलन यही वैशाख १८ र १९ गते विराटनगरमा आयोजना गर्दैछ । उक्त सम्मेलनमा ५४ वटा योजना मार्फत १ खर्बभन्दा बढी लगानी भित्र्याउने योजना कोशी प्रदेश लगानी प्राधिकरणको रहेको छ
लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला १ खर्ब ३९ अर्बभन्दा बढी लगानी भित्र्याउने तयारी रहेको बताउँछन् ।
उनले पर्यटन क्षेत्रमा १५ वटा, भौतिक पूर्वाधारमा १४, कृषिका ९ उद्योगमा ९ वटा परियोजना समावेश गरिने बताए । यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेलन मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेसिङ भएका छन् ।
यसै गरी सञ्चालनमा रहेका केहि होटललाई समेत सोकेसिङमा राखिएको छ । कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मत कुमार कार्कीका अनुसार सम्मेलनको मुख्य उद्देश्य कोशी प्रदेशमा लगानीका नयाँ सम्भावना पहिचान गरी उद्योगहरू स्थापनामार्फत पूँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नु रहेको बताए ।
सम्मेलनमार्फत प्रदेशमा स्वदेशी, निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी (एफ.डी.आई.) आकर्षित गर्नुका साथै नवीनतम प्रविधि तथा ज्ञान परिचालनका लागि आधार तयार हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारले कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधार गरी प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने जनाएको छ ।

