काठमाडौँ । मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको सानोपामा रहेको एक कम्पनीको डिलरमा अनुगमन गर्याे । पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालि नाम रहेको उक्त कम्पनी बुटवलमा उत्पादित गुट्खाको आधिकारिक डिलर थियो ।
काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेगरी चार जिल्लाको डिलर सिपको जिम्मा पाएको कम्पनीमा रहेका श्रीराम टोबाकाेबाट उत्पादीत चार प्रकारका गुट्खामा उत्पादन, उपभोग्य मिति उल्लेख नभएको पाइयो ।
पशुपतिनाथ मन्दिरको नाम राखेर उक्त कम्पनीले श्रीराम टोबाटोबाट उत्पादीत करेन्ट गुट्खा, भोला गुड्खा, पावार खैनी र जित खैनी गरी चार वटा प्रकारका खैनी बिक्री वितरणको जिम्मा पाएको थियो ।
विभागले अनुगमन गर्दा चारै ब्राण्डका गुट्खामा तोकिएभन्दा कम तौल भेटिएको थियो ।
‘हामीले सबै ब्राण्डबाट कम्तीमा २०/२५ वटा गुड्खाको परीक्षण गरेका थियौँ । प्याकेटमा २.१४ ग्राम उल्लेख गरिएको थियो, तर हामीले वेट गर्दा उक्त तौल नै भेटिएन । एक/दुई वटामा केही कैफियत होला भनेर अन्यको समेत परीक्षण गर्दा सबैमा एउटै तौल भेटियो । सबैको एकै परिमाणको तौल भेटिएपछि उत्पादीत कम्पनीकै लापरवार्ही रहेको हाम्रो निष्कर्ष निकाल्यो,’ विभागका अनुसन्धान अधिकृत अमित झाले भने ।
उनले श्रीराम टोबाकोका चारै प्रकारका गुट्खामा उत्पादन मिति र उपभोग्य मिति नै उल्लेख नगरेको समेत भेटिएको बताए । ‘५०/६० पिस राखेर प्याकेजिङ गरिने रैछ । त्यो ठूलो प्याकेजको बाहिरपट्टी उत्पादन र उपभोग्य मिति उल्लेख गरिएपनि बजारमा बिक्री वितरण हुने स सानो प्याकेटमा कुनै मिति नै नभएको पाइयो’, उनले भने ।
सातामै डेढ करोड बढीको बारोबार
उपत्याकाका चार जिल्लामा डिलरसिपको जिम्मा पाएको पशुपतिनाथ इन्टरनेशनलले सातामै तीन ट्रक गुट्खा बिक्री वितरण गर्दै आएको जनाएको छ । अनुगमनका क्रममा उक्त कम्पनीका प्रतिनिधिले सातामा एक करोड ४० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने जनाएको वाणिज्य विभागले जनाएको छ ।
विभागका महानिर्देशक कुमार दाहालले उत्पादन मिति उल्लेख नहुनु र तोकिएभदा कम तौल भएका कारण अनुसन्धानमा तानिएको बताए । अनुगमनका क्रममा कैफियत देखिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३३ को उपदफा (३) बमोजिम तत्कालका लागि कारोबार बन्द गरिएको उनले बताए ।
विभागले मंगलबार तत्कालका लागि बिक्री वितरणमा रोक लगाउँदै आवश्यक कागजपत्र ल्याउन निर्देशन दिएपछि श्रीराम टोबाकोका प्रतिनिधिहरुले दबाब दिन सुरु गरिसकेको पाइएको छ । उनीहरुले आफूले गरेको गैरकानूनी कामहरु बाहिर आउने डरले माथिल्लो निकायमा पावर लगाएर तत्काल अनुसन्धान रोक्न समेत प्रेसर दिएको विभाग स्रोतले बतायो ।
विभागका महानिर्देशक दाहालले भने अनुसन्धानका क्रममा कैफियत भेटिएपछि कानुन अनुसारको पक्रिया सुरु हुने बताए । ‘हामीले ३ दिनभित्र आवश्यक कागजपत्र ल्याउन निर्देशन दिएका छौँ । कागजपत्र नआए हामी कानुन अनुसार अघि बढ्छौँ । कसैले प्रलोभव दिएर अनुसन्धान रोकिदैन्’, उनले भने ।
विवादीत विगत
यसअघि नै राजश्व चुहावट गरेको भन्दै राजश्व अनुसन्धान विभागले श्रीराम टोबाकोका सञ्चालक विरुद्ध मुद्दा दर्ता गरेको थियो ।विभागले २०७६ सालमा टोबाकोलाई १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
विभागले त्यति बेला नै उक्त कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताहरुको सहयोगमा स्टिकर र कर बिजक बिना मालवस्तु बिक्री गरेको भन्दै मुद्धा दायर गरेको थियो ।
कम्पनीका संचालक टानबहादुर पाण्डे, कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल, श्रवणकुमार बेरिवाल, बलराम अधिकारी, रामप्रसाद ढकाल र उमादेवी शर्मा विरुद्ध मुद्दा दर्ता भएको थियो ।
वाणिज्य विभागले लगायो करेन्ट गुट्खा, भोला लगायतका वस्तुको बिक्री वितरणमा रोक्का

