काठमाडौँ । व्यापारीक घरानाका रुपमा रहेको शारडा ग्रुपले आयातीत विद्युतीय सामग्रीमा मूल्य सूचीबीनै नेपालमा बिक्री वितरण गर्दै आएको पाइएको छ ।
बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उक्त ग्रुपले आयात गर्ने कुनै पनि विद्युतीय सामग्रीमा मूल्य सूची नभएको भेटिएको हो ।
उक्त ग्रुपले भारतबाट प्यानासोनिक ब्राण्डका विद्युतीय सामग्रीहरु प्रिमियर ओभरसिज प्रालिको नामबाट आयात गर्ने गरेको पाइएको छ । तर, बिहीबार अनुगमनका क्रममा उक्त ओभरसिज आयातकर्ता रहेको कुनै पनि विद्युतीय उपकरणमा उपभोक्ता मूल्य सूची नभएको भेटिएको हो ।
आयातीत कुनै पनि सामग्रीमा मूल्य नै नराखि कम्पनीले ठगी गर्दै आएको भेटिएपछि विभागले कारवाही स्वरुप २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका अनुगमन अधिकृत अमित झाले जानकारी दिए ।
उनका अनुसार उक्त कम्पनीले मुख्यगरी विद्युतीय सामग्री, राइसकुकर, आइरन, पङखा, एसी तथा कुलर लगायतका सामग्रीको आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
शारदा ग्रुप अटोमोबाइल क्षेत्रमा नाम कमाएको व्यापारिक घराना हो । उक्त ग्रुप नेपालका लागि निसान, ओमोडा, जेको र जिकर गाडीको आधिकारिक वितरक हो । यस्तै, उक्त ग्रुपले मोबाइल फोन, हेभी इक्युमेन्ट तथा त्यसका पास्र्ट, मदिरा लगायतका सामग्रीहरु बिक्री वितरण गर्दै आएको छ ।

