काठमाडौं । प्रतिनिधिसभ बैठक जारी छ। बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।
सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए । शिक्षकहरू लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरूका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत् ‘रुलिङ’माग गरे।
त्यसपछि बोलेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे। शिक्षकहरूसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको उनले बताए।

