काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकहरूको छानबिन अन्तिम चरणमा पुर्याएको छ। त्रिविका रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालका अनुसार छानबिन समितिले तथ्यांक संकलन गरिसकेर रुजु गर्ने काम भइरहेको छ। ‘छानबिन समितिलाई ताकेता गरिरहेको छु। अर्को हप्ता रिपोर्ट पेस हुन्छ,’ उनले बताए।
डा. जीवन काफ्लेको संयोजकत्वमा गठन भएको छानबिन समितिले क्याम्पस–क्याम्पस पुगेर नफर्किने प्राध्यापकहरूको सूची तयार पारेको छ। त्रिविका प्राध्यापकले अध्ययनका लागि पाँच वर्षसम्मको तलबी बिदा पाउँछन्। बिदा सकिएपछि सोही अवधिसम्म सेवा गर्नुपर्ने नियम छ।
त्रिविका नियम अनुसार, तीन वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा तीन वर्ष, र पाँच वर्ष वा सोभन्दा बढी बिदा लिएको भए कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ। यदि कर्मचारीले सेवा पूरा नगरेमा बिदामा बसेको अवधिको तलब भत्तासहित १२ प्रतिशत ब्याज फिर्ता गर्नुपर्ने नियम रहेको छ। तर, अध्ययन बिदामा गएको धेरैजसो प्राध्यापकले नफर्केर तलब भत्ता फिर्ता नगरेको तथ्य छानिएको छ।
त्रिविको विगत १० वर्षको तथ्यांक अनुसार ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन्। तर कति फर्किएका, कति अध्ययन पूरा गरी फर्किएका, कति नफर्केका वा फरार छन् भन्ने स्पष्ट अभिलेख त्रिविमा छैन। अध्ययन बिदामा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम २ अर्बभन्दा बढी रकम त्रिविले खर्च गरेको छ। यसले त्रिविलाई आर्थिक, शैक्षिक तथा नैतिक दृष्टिले ठूलो नोक्सानी पुर्याएको छ।
त्यसैगरी, त्रिविले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन लिने निर्णय पनि उल्टाउने तयारी गरेको छ। नियम विपरीत, धेरै प्राध्यापकले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन लिँदै आएका छन्। रजिस्ट्रार रिजालले उक्त निर्णय कार्यकारी परिषद्ले छिट्टै उल्टाउने बताए।
‘बेतलबी बिदा सेवा अवधिमा जोडेर पेन्सन लिने निर्णय कार्यकारीबाट गर्ने छौँ। कानुनी सल्लाहमा छौँ,’ उनले भने।
हाल उपप्राध्यापकदेखि प्राध्यापकसम्म कुल ४ हजार १५६ जनाले पेन्सन लिइरहेका छन्, जसमा १२६ जनाले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन लिइरहेको तथ्यांक त्रिविका कर्मचारीहरूले बताएका छन्। वार्षिक रूपमा त्रिविले ६ करोड ७३ लाखभन्दा बढी रकम पेन्सनमा खर्च गरिरहेको छ।
पेन्सन खान कम्तीमा २० वर्ष सेवा अनिवार्य भएपनि, केहीले १७ वर्ष सेवा गरेर बाँकी सेवा अवधिका लागि बेतलबी बिदा जोडेर पेन्सन लिइरहेका छन्।
त्रिविका उपकुलपति प्रा.डा. खड्ग केसीले भने, ‘कार्यकारी परिषद्ले बेतलबी बिदालाई सेवा अवधिमा जोड्ने निर्णय चाँडै उल्टाउने छ।’

