काठमाडौँ । आज आइतबार पारित गर्ने भनिएको शिक्षा विधेयकका लागि समितिले सरकारलाई थप ५ दिन उपलब्ध गराएको छ। समिति समापति अम्मरबहादुर थापाले सदस्यहरूलाई आजको बैठकबाट विधेयक पास गर्ने तय भएको सूचना दिएर बैठक डाकेका थिए।
तर शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेपछि समितिले ५ दिनको समय दिएको थापाले जानकारी दिए। अधिकांश समितिका सदस्य सांसदहरूले भने आजै पास गर्नुपर्ने माग राखेका थिए।
‘पाँच दिनभित्र सहमति गरेर आउनू, मन्त्री पन्तलाई निर्देशन दिँदै थापाले भने, ुत्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ।ु यही असार १६ गते नै पनि शिक्षामन्त्री पन्तले आग्रह गरेपछि बैठक रोकिएको थियो। पन्तले आज पनि समय मागेका हुन्।
अस्थायी शिक्षक, ईसीडी शिक्षकलगायतको विषयमा समितिमा सहमति जुट्न सकेको छैन। नेपाल शिक्षक महासंघले पनि सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनको चेतावनी दिइरहेको छ।

