काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डा खगराज शर्माको नाम सिफारिस गरेको हो। मन्त्रिपरिषद्को बैठकले उनीहरूमध्ये १ जनालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्षमा नियुक्त गर्नेछ।
प्राधिकरणको अध्यक्षमा नियुक्तिका लागि सिफारिस भएका अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवबाटै अवकाश प्राप्त व्यक्ति हुन्। उनी सहकारी मन्त्रालयको सचिव हुँदा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा समेत काम गरेका थिए। अवकाशपछि पनि पोखरेल प्राधिकरण कै अध्यक्ष बन्ने दौडधुपमा छन्। उनलाई ‘कुलिङ पिरियड’ नछुने भएपछि नयाँ नियुक्तिको दौडधुपमा लागेका हुन्।
त्यस्तै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका नारायण पौडेल सहकारी प्राधिकरणको अध्यक्ष बन्न मरिहत्ते गरेर लागिपरेका छन्।
विघटित राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यसचिव डा खगराज शर्माको नाम पनि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि सिफारिस भएको छ। नेकपा एमाले सहकारी विभाग सदस्य समेत रहेका शर्मा बोर्डको सदस्यसचिव भएर ५ महिना पनि काम गर्न पाएनन्। नेकपा एमालेका महासचिव शंकर पोखरेल निकट रुपन्देहीका शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्न मरिहत्ते गरेर लागिपरेका छन्।
राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्ष सिफारिसका लागि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा पूर्वअर्थ सचिव सुमन शर्मा र गुणनिधि भुसाल सदस्य रहने गरी ३ सदस्यीय सिफारिस समिति गठन भएको थियो।
प्राधिकरणको अध्यक्षका लागि राष्ट्रपति रामचन्द्र पौडेलका भतिजा अनिलराज पौडेल, अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल, डा. खगराज शर्मा, डा. हरिकुमार नेपाल र परितोष पौड्याल संक्षिप्त सूची (सर्ट लिस्ट) मा परेका थिए।
अन्तर्वार्तामा राष्ट्रपतिका भतिजा अनिल उपस्थित नै भएनन्। त्यसपछि सूचना निकालेरै प्रक्रिया अघि बढाइएको हो। राष्ट्रपतिका भतिज अनिलका कारण सिफारिस प्रक्रिया नै अबरुद्ध भएको थियो। अब भने सिफारिसदेखि नियुक्ति प्रक्रिया अघि बढेको छ। व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण पार गरेर अन्तर्वार्ताका चरणमा पूरा गरेर पोखरेल, पौडेल र शर्मा अध्यक्षमा नियुक्तिका लागि सिफारिस भएका हुन्।

