काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चालू आर्थिक वर्षका लागि ३१ अर्ब ४० करोड ४७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
चालू आर्थिक वर्षको उक्त रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दा क्यानको बजेट भने घटेको छ । क्यानले आर्थिक वर्ष २०८२/०८२ का लागि ३४ अर्ब १२ करोड १९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । गत बर्षका तुलनामा झन्डै ३ अर्बले बजेट घटेको हो ।
समग्रमा बजेट घटेपनि पुँजीगततर्फको बजेट बढाएर १२ अर्ब ३९ करोड ७० लाख बनाइएको छ। गत वर्ष ११ अर्ब ५२ करोड २५ लाख रुपैयाँ छुट्याइएको थियो।
कार्य सञ्चालनतर्फ गत आवमा ६ अर्ब ५२ करोड ७१ लाख विनियोजन भएको बजेट अहिले घटेर ६ अर्ब १५ करोड ६७ लाख छुट्याइएको छ। त्यस्तै, वित्तीय व्यवस्थापनका लागि १२ अर्ब ८५ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
चालू आर्थिक वर्षमा नयाँ बजेट समावेश नभएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनले नयाँ कार्यक्रम भन्दा पनि पुराना कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।

