काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै आफ्नै दल नेपाली कांग्रेसको कोटाबाट पाँच नयाँ मन्त्री नियुक्त गर्न लागेका छन्। बानियाँले आजै दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउने तयारी गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार नयाँ मन्त्रीमा काभ्रे प्रदेश निर्वाचन क्षेत्र–२ बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे, रसुवा प्रदेश निर्वाचन क्षेत्र–१ का सांसद प्रभात तामाङ, भक्तपुर प्रदेश निर्वाचन क्षेत्र–१ का सांसद सुरेश श्रेष्ठ, ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल र चितवनबाट समानुपातिक सांसद बिनु रायमाझी रहेका छन्। यी पाँचै जना बानियाँका नजिकका मानिएका नेताहरू हुन्।
यसअघि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका तीन सांसदलाई समेत मन्त्री बनाउने सहमति भएको चर्चा भए पनि अन्तिममा उनीहरू यसपटकको सूचीमा परेनन्। यसलाई लामा पक्षसँगको शक्ति सन्तुलनमा देखिएको असहमतिको परिणामका रूपमा हेरिएको छ।
नवनियुक्त मन्त्रीहरूलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे भने अन्तिम टुंगो लागिसकेको छैन। मन्त्रालयको बंटवारा कांग्रेसभित्रको आन्तरिक छलफल र सत्तागठबन्धनका अन्य दलसँगको समन्वयपछि मात्र सार्वजनिक गरिने बताइएको छ।
मुख्यमन्त्री बानियाँले हालै मात्र पदभार ग्रहण गरेसँगै सरकारलाई शीघ्र पूर्णता दिने प्रतिवद्धता व्यक्त गरेका थिए। यसअघि अपूर्ण मन्त्रिपरिषद् र मन्त्रालयको कार्यसम्पादनमा आएको चुनौतीका कारण नीति–कार्यक्रम कार्यान्वयनमा ढिलाइ भएको भन्दै उनले शीघ्र नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।

