काठमाडौं । अमेरिकाले भारतबाट हुने आयातमा थप २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेको छ। बुधबार (आज) देखि लागु हुने यो निर्णयसँगै अब भारतबाट अमेरिका जान्ने सामानमा कुल ५० प्रतिशत कर लाग्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा जारी गरेको कार्यकारी आदेश नम्बर १४३२९ अनुसार भारतले रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ किन्दै आएको भन्दै त्यसलाई नाकाबन्दीको उल्लङ्घन ठहर गर्दै यस्तो निर्णय लिएको हो।
भारतका उद्योगी तथा निर्यातकर्ताहरूले यो निर्णयले आफूहरूको सबैभन्दा ठूलो निर्यात बजार प्रत्यक्ष प्रभावित हुने भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। उनीहरूले वैकल्पिक बजार खोज्न धेरै कठिनाइ हुने चेतावनी पनि दिएका छन्।
भारतको वाणिज्य मन्त्रालयले निर्यातकर्ताहरूलाई ''विश्वव्यापी अनिश्चितता'' बाट जोगाउने उपाय अपनाउने बताएको छ। तर हालसम्म भारतले अमेरिकाविरुद्ध कुनै प्रतिकारात्मक कदम भने चालेको छैन।
प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी दबाबको बीचमा पनि समाधान खोजिने दाबी गरेका छन्। उनले किसान, साना व्यवसायी र पशुपालकहरूलाई आर्थिक सुरक्षाबारे आश्वस्त गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।
भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले शुल्कको असर “अत्यन्तै न्यून” हुने विश्वास व्यक्त गर्दै प्रभावित व्यापार क्षेत्रका लागि विशेष सहायता प्याकेज ल्याइने बताएका छन्।
विदेशमन्त्री एस. जयशंकरले अमेरिकी निर्णयलाई ''अन्यायपूर्ण र अव्यावहारिकू भन्दै आलोचना गरेका छन्। उनले भारतले किसान र साना व्यवसायीलाई मार पर्ने गरी कुनै सम्झौता नगर्ने अडान दोहोर्याएका छन्।
गत जुलाई ३० मा राष्ट्रपति ट्रम्पले भारतसहित ९० भन्दा बढी मुलुकहरूबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। त्यसपछि भारतको रूसी तेल खरिदलाई लिएर थप २५ प्रतिशत कर थपिएको हो।

