काठमाडौं। प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले आज नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ।
महासंघका अनुसार, पहिलो चरणको आन्दोलन अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टासम्म धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको थियो। यसअघि महासंघले बुधबार नेपाली कांग्रेसको कार्यालयमा धर्ना दिएको थियो भने शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम रहेको छ।
महासंघले भदौ २० गतेसम्म धर्ना कार्यक्रम जारी राख्ने र माग पूरा नभए भदौ २१ गते नयाँ आन्दोलन कार्यक्रम घोषणा गर्ने जनाएको छ।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभामा विगतमा भएको सहमतिअनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ। महासंघले अस्थायी शिक्षक पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको थियो, तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्था प्रतिनिधि सभामा पठाइएको छ।
महासंघले विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बालकक्षा शिक्षकको सेवा सुविधा नपुगेको तथा संस्थागत विद्यालयका शिक्षकको सेवा र सरुवा प्रणाली अव्यवहारिक भएको भन्दै आन्दोलन जारी राखेको जनाएको छ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित भएको थियो। विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका थिए।

