काठमाडौं । विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै शिक्षकहरूले सशक्त आन्दोलनको चेतावनी दिएका छन्। नेपाल शिक्षक महासंघको राष्ट्रिय समिति नेतृत्वमा बिहीबार ललितपुरको च्यासलस्थित नेकपा (एमाले) मुख्यालयमा धर्ना दिइएको हो।
महासंघले हाल संसदमा रहेको विद्यालय शिक्षा विधेयकमा शिक्षक र विद्यालय कर्मचारीका महत्त्वपूर्ण मागहरूलाई बेवास्ता गरिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेको छ। अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक बिना सुधार पारित भएमा विगतको भन्दा ठूलो आन्दोलन गर्ने चेतावनी दिए।
''दलहरूको निर्णय नै संसदको निर्णय हो," सुवेदीले भने, ''यदि दलहरूले पनि हाम्रो आवाज नसुने, ऐन बनेर आए पनि सुधार नभए, २०८१/८२ सालको भन्दा ठूलो आन्दोलन गर्नेछौं।''
महासंघले भदौ ११ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रमुख दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिने कार्यक्रम सुरु गरेको छ। बुधबार नेपाली कांग्रेसको सानेपा मुख्यालयमा धर्ना दिइसकेपछि, बिहीबार एमाले मुख्यालय च्यासलमा धर्ना दिइएको हो।शुक्रबार (भदौ १३) माओवादी केन्द्रको पेरिसडाँडास्थित मुख्यालयमा धर्ना कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।

