काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले १८ भदौदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा चरणबद्ध आन्दोलन घोषणा गर्दै १८ भदौसम्म पनि माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
विद्यालय शिक्षा विधेयकमा राखिएको ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’सम्बन्धी प्रावधान हटाउनुपर्ने माग गर्दै निजी विद्यालय सञ्चालकहरूले गत केही सातादेखि आन्दोलन गर्दै आएका छन् । पहिलो चरणको आन्दोलन आज (१२ भदौ) सकिएको छ भने दोस्रो चरणका कार्यक्रम सुरु भएका छन् ।
यस्ता छन् दोस्रो चरणका आन्दोलन :
१) मिति २०८२ भाद्र १२ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने । उपत्यकाको हकमा माइतीघरमण्डलामा भेला भई र्याली हुँदै कोण सभामा परिणत हुने ।
(२) मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।
(२) मिति: २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा/व्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य र्याली गर्ने। उक्त यात्रीमा सबै संगठनका केन्द्रीय/प्रदेश/जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनुपर्नेछ ।
(४) मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समीक्षा बैठक गर्ने ।
(५) मिति २०८२ भाद्र १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुँदै कोण सभामा परिणत हुने ।
(६) मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।

