काठमाडौं। पछिल्ला दिनमा उत्पन्न असामान्य परिस्थितिका कारण अस्थायी रूपमा बन्द गरिएका काठमाडौं महानगरपालिकाअन्तर्गतका विद्यालयहरू आज आइतबार (भदौ ३१) देखि पुनः सञ्चालनमा आउने भएका छन्। महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई आवश्यक तयारीसहित भौतिक रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार, विद्यालयहरूलाई शिक्षण कार्य पुनः सुरु गर्न आन्तरिक तयारी पूरा गर्न, विद्यालय परिसरको अवस्थाबारे मूल्याङ्कन गर्न, अभिभावकहरूसँग समन्वय गरेर विद्यार्थीको उपस्थिति सुनिश्चित गर्न र अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ।
महानगरले विद्यालयहरूलाई चार बुँदे निर्देशनमार्फत कक्षा सञ्चालनमा फर्कन आग्रह गरेको हो। यस अन्तर्गत विद्यालयमा भौतिक क्षति भएको भए मूल्याङ्कन गर्ने, कक्षा सञ्चालनका लागि तयारी गर्ने, अभिभावकहरूसँग सम्पर्क राख्ने, र सुरक्षाका मापदण्डअनुसार विद्यार्थीलाई ल्याउने–लैजाने व्यवस्था गर्न भनिएको छ।
साथै, यही भदौ ३० गते सोमबारदेखि सबै विद्यालयले मनोसामाजिक परामर्शसहित नियमित कक्षा सञ्चालन गर्ने तयारी गर्नु पर्नेछ। यदि विद्यार्थीहरू विद्यालय आउन सक्दैनन् भने, श्रव्यदृश्य सामग्रीमार्फत वैकल्पिक सिकाइका विधिहरू प्रयोग गर्न पनि आग्रह गरिएको छ।
गत भदौ २३ र २४ मा भएको आन्दोलनका कारण शिक्षण संस्थाहरू बन्द गर्नुपरेको थियो। अहिले अवस्था सामान्य बन्दै गएकाले शिक्षण कार्यलाई पुनः लयमा फर्काउने प्रयास सुरु गरिएको हो। महानगरले सबै विद्यालयलाई सचेत रहन, समन्वय गर्न, र आवश्यक परेमा स्थानीय प्रशासनसँग सहयोग लिइरहन पनि अनुरोध गरेको छ।

