हेटौँडा । बागमती प्रदेश सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा दिएका छन्। उनले नेपाल संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम सभामुख पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्।
राजीनामा पत्रमा पाठकले भदौ २३ गते जेनजी युवाले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा गरेका आन्दोलनमा भएको अस्वाभाविक बल प्रयोग र त्यसमा भएको सहादतले आफू गहिरो पीडित भएको बताएका छन्।
उनले लेखेका छन्, “राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरआत्माले भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरेँ। तर प्राविधिक कारणले तत्काल कानुनी प्रक्रिया पूरा हुन सकेन। आज संविधान र प्रदेश सभा नियमावलीअनुसार औपचारिक राजीनामा दिएको छु।”
पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद हुन्। उनी तत्कालीन सत्तारुढ गठबन्धन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र हाम्रो नेपाली पार्टीको समर्थनमा सभामुखमा निर्वाचित भएका थिए।
अब प्रदेश सभाले नयाँ सभामुख चयन प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

