काठमाडौं । अमेरिकामा विदेशी दक्ष जनशक्ति भित्र्याउने प्रमुख माध्यम मानिने एच–१बी भिसा कार्यक्रममा अमेरिकी सरकारले ठूला नीतिगत परिवर्तन गर्दै अब रोजगारदाता कम्पनीहरूले प्रत्येक वर्ष १ लाख अमेरिकी डलर आवेदन शुल्क तिर्नुपर्ने व्यवस्था ल्याएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्, जसको उद्देश्य विदेशी कामदार भित्र्याउने प्रक्रियालाई कडाइ गर्दै दुरुपयोग रोक्नु हो।
ट्रम्प प्रशासनका अनुसार यो निर्णयले अमेरिकी कम्पनीहरूलाई आफ्नै देशका कामदारलाई प्राथमिकता दिन प्रोत्साहित गर्नेछ, र विदेशी कामदार ल्याउन केवल अत्यन्तै दक्ष तथा योग्य जनशक्तिमात्र चयन हुने सुनिश्चित गर्नेछ। तर यो नयाँ शुल्क संरचनाले साना तथा मध्यम स्तरका कम्पनीहरूमा नकारात्मक असर पार्ने देखिएको छ।
एच–१बी भिसा मुख्यतया वैज्ञानिक, प्रविधि, इन्जिनियरिङ, गणित (STEM) लगायतका क्षेत्रमा दक्ष पेशेवरलाई अमेरिकी कम्पनीमा काम गर्न अनुमति दिने गैरआवासीय कार्य भिसा हो। यो भिसा सुरुमा ३ वर्षका लागि मान्य हुन्छ र आवश्यक परेमा अर्को ३ वर्ष नवीकरण गर्न सकिन्छ। यसमा वार्षिक ६५,000 कोटा तोकिएको छ भने अमेरिकी विश्वविद्यालयबाट उन्नत डिग्री हासिल गरेका विदेशीका लागि थप २०,000 कोटा छुट्टै राखिएको छ।
भिसा आवेदन हरेक वर्ष कोटाभन्दा धेरै आउने भएकाले लटरी प्रणालीमार्फत छनोट गरिन्छ। यही कारणले गर्दा एच–१बी भिसा पाउनु प्रतिस्पर्धात्मक प्रक्रिया हो। तर, सफल उम्मेदवारका लागि यो भिसाले अमेरिकी जीवनशैली, उत्कृष्ट पेशागत अवसर र भविष्यमा ग्रीन कार्ड (स्थायी बसोबास) प्राप्त गर्ने ढोका खोलिदिन्छ।
यो भिसा प्रायः गुगल, माइक्रोसफ्ट, अमेजन, मेटा, एप्पल जस्ता प्रविधि कम्पनीहरूद्वारा प्रयोग गरिन्छ, जसले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रतिभा भित्र्याएर आफ्नो प्रतिस्पर्धात्मक धार कायम राख्न खोज्छन्। विशेषगरी भारतीय, चिनियाँ र नेपाली विद्यार्थी तथा पेशेवरहरू यस भिसाका लागि प्रमुख दाबेदार मानिन्छन्।
एच–१बी भिसाका लागि योग्य बन्नका लागि व्यक्तिले मान्यता प्राप्त संस्थाबाट स्नातक वा स्नातकोत्तर डिग्री प्राप्त गरेको हुनुपर्छ, र उनीले काम गर्न चाहेको क्षेत्र अमेरिकामा विशेषज्ञता आवश्यक पर्ने क्षेत्र हुनुपर्छ। साथै, कम्पनीले अमेरिकी श्रम विभाग र आप्रवासन विभागमार्फत कानुनी प्रक्रिया पूरा गर्नुपर्छ।
राष्ट्रपति ट्रम्पको यो नयाँ नीतिलाई धेरै विश्लेषकहरूले आप्रवासन कडाइ गर्ने दीर्घकालीन रणनीतिको भागका रूपमा हेरेका छन्। अल्पकालमा अमेरिकी सरकारले यसबाट ठूलो राजस्व उठाउनेछ, तर दीर्घकालमा अमेरिका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पछि पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। तर, यो परिवर्तनबीच पनि एक यथार्थ छ ,यदि तपाईं अत्यन्तै दक्ष, शिक्षित र अनुभवी हुनुहुन्छ भने, एच–१बी भिसा अझै पनि अमेरिका प्रवेश गर्ने सबभन्दा सुनौलो अवसर बन्न सक्छ।

