काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट अस्पताल सुत्केरीको मृत्युपछि आइतबार दिनभर तनावग्रस्त बनेको छ। चिकित्सकको लापरबाहीका कारण सुत्केरी मिनाश्री राईको ज्यान गएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले अस्पताल परिसरमै प्रदर्शन गरेपछि स्थिति नियन्त्रण बाहिर गएर प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो।
मृतक ३४ वर्षीया मिनाश्री राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की बासिन्दा हुन्। उनी शुक्रबार बिहान ९ बजे अस्पतालमा भर्ना भएकी थिइन्। परिवारका अनुसार साँझसम्म सुत्केरी बेथा नलागेपछि राति इन्टर्न चिकित्सकहरूले जबरजस्ती नर्मल डेलिभरीको प्रयास गर्दा अत्यधिक रगत बगेर मिनाश्रीको मृत्यु भएको हो।
मृतककी दाजु देवेन्द्र राईका अनुसार, “अस्पतालले समयमा विशेषज्ञ चिकित्सकको सल्लाह नलिई इन्टर्न डाक्टरमार्फत डेलिभरी गराउने प्रयास गर्यो। ब्लिडिङ रोक्न नसक्दा बहिनीको ज्यान गयो।” उनले अस्पताल प्रशासनले मृत्युपछि आफन्तलाई झुक्याउने प्रयास गरेको आरोपसमेत लगाए।
मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले ‘किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए। प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले भीडलाई तितरवितर पार्न लाठीचार्ज र केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।
प्रहरीको हस्तक्षेपपछि अस्पताल वरपरको क्षेत्र सुरक्षाकर्मीले घेरा हाल्दै नियन्त्रणमा लिएको छ। हाल पनि अस्पताल परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन्।
यसबीच, किष्ट अस्पताल प्रशासनले घटनाबारे मृतकका आफन्तसँग वार्ता भइरहेको जनाएको छ। अस्पतालका निर्देशकले घटनाको विस्तृत विवरण संकलन भइरहेको र सत्यतथ्य सार्वजनिक गरिने बताएका छन्।
मृतक मिनाश्रीको शव पोष्टमार्टमका लागि पठाइएको छ भने आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन्।

