काठमाडौँ । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा एक यूपीएस ९ग्एक्० कार्गो विमान दुर्घटनाग्रस्त भएको छ।
बीबीसीका अनुसार दुर्घटनापछि विमानमा ठूलो आगलागी भएको थियो र तीन जनाको मृत्यु पुष्टि गरिएको छ। साथै, कम्तीमा ११ जना घाइते भएका छन् भने केही व्यक्ति अझै बेपत्ता रहेको जानकारी आएको छ।
दुर्घटनापछि विमानबाट उठेको धुवाँको मुस्लो टाढासम्म फैलिएको कारण वरपरका बासिन्दाहरूलाई घरभित्रै बस्न र बाहिर ननिस्कन सल्लाह दिइएको स्थानीय प्रशासनले जनाएको छ।
दुर्घटनाग्रस्त विमानमा करिब ३८,००० ग्यालन इन्धन रहेको र विस्फोटपछि आगोको ज्वालाले नजिकैका व्यवसायिक क्षेत्रहरू पनि प्रभावित गरेको बताइएको छ।
यूपीएसका अनुसार उक्त विमानमा तीन जना चालक दलका सदस्य सवार थिए। दुर्घटनाको कारणबारे संघीय उड्डयन प्रशासन (FAA) र राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (NTSB) ले संयुक्त रूपमा अनुसन्धान थालेका छन्।

