काठमाडौं । यातायात व्यवस्था विभागले लामो प्रतीक्षापछि सवारीचालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम भोलि (शुक्रबार) देखि सुरु गर्ने तयारी गरेको छ।
विभागका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार काभ्रेमा रहेको सुरक्षा मुद्रण केन्द्रमा लाइसेन्स छपाइ थालिनेछ। पहिलो चरणमा दैनिक करिब ५ सयवटा लाइसेन्स छापिने योजना बनाइएको छ भने आगामी महिनाहरूमा उत्पादन क्षमता क्रमशः बढाइनेछ।
ढुंगानाले बताए अनुसार यस चरणमा जम्मा १२ लाख प्रति लाइसेन्स छापिनेछ। छपाइको औपचारिक सुरुवात सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले गर्ने कार्यक्रम तय गरिएको छ। सुरक्षा मुद्रण विभागका अनुसार छपाइ भएका लाइसेन्स वितरणका लागि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेर ६ महिनाभित्र सर्वसाधारणलाई वितरण सुरु गरिनेछ।
गत जेठ ९ गते यातायात व्यवस्था विभाग र सुरक्षा मुद्रण केन्द्रबीच बाँकी लाइसेन्स छाप्ने विषयमा समझदारी सम्झौता भएको थियो। यस परियोजनाका लागि विभागले मुद्रण केन्द्रलाई करीब २७ करोड रुपैयाँ उपलब्ध गराउनेछ। साथै, यस पटकको छपाइ अघिल्लो चरणको तुलनामा प्रति लाइसेन्स करिब एक सय रुपैयाँ सस्तो पर्ने बताइएको छ।

