काठमाडौँ । होटलको स्तर अनुसारको मूल्य निर्धारण गर्न व्यवसायी तयार भएका छन् । होटल तथा रेष्टुरेन्ट अनुसार फरक फरक मूल्य सूची राखेर उपभोक्ता ठगिएको गुनासो बढेपछि उनीहरु स्तर अनुसारको मूल्य निर्धारण गर्न तयार भएका हुन् ।
गत सोमबार मात्र एक बोतल पानीको मूल्य १ सय रुपैयाँ लिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको शान्ति नगरमा सञ्चालित जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
विभागले सोमबार १७ वटा होटल तथा रेष्टुरेन्टको अनुमगन गर्दै उक्त होटललाई जरिवाना र अन्य होटललाई आवश्यक सुधार गर्न निर्देशन दिएको थियो । विभागको कारवाही पछि होटल व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गर्दै कारवाही नगर्न आग्रह गरेका थिए ।
उनीहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गर्दै होटलको अनुुगमन नगर्न र तोकिएको जरिवाना नलिन समेत आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई आधार बनाएर मन्त्री भण्डारीले स्तर निर्धारण गरेर मूल्य सूची राख्न होटल व्यवसायीलाई निर्देशन दिएका हुन् ।
मन्त्री भण्डारीले व्यवसायीका संगठनलाई बजार अनुगमनमा संगै हिड्न आग्रह गर्दै व्यवसायीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्ने समेत बताए ।
उनले भने, ‘हामी अहिले कोहि व्यवसायी, कोहि ग्राहक, कोहि सरकारका प्रतिनिधि, जेसुकै भएपनि सबभन्दा पहिला हामी सबै उपभोक्ता हौँ, स्वस्थकर खाद्य सामग्री हामिले उपयुक्त मुल्यमा पाउनुपर्छ । तर काठ्माण्डौँका केहि रेस्टुरेण्टले असुल्दै आएको मुल्य अत्याधिक छ, त्यो गर्न पाइदैन् । २२ रुपयाँ पर्ने पानिको बोतल १ सय रुपयाँमा बिक्रि गर्दा कारवाहि नगरेर के गर्ने ? होटलैपिच्छै फरकफरक मुल्यसूचि रहेकाछन्, यसमा एकरुपता ल्याउनुस्, गुणस्तरिय सामग्री उचित मुल्यमा उपलब्ध गराउनुस् हामी अनुमगन गर्न छाडिदिन्छौँ । अहिले राजमार्ग क्षेत्रका होटलहरुमा गुणस्तरहिन खाना खानुपर्छ, व्यवसायीको फाइदाको लागि उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्न पाइदैँन् उपभोक्ता ठग्ने बिषयमा सरकार मुखदर्शक बन्न सक्दैन् ।’
मन्त्री भण्डारीले व्यवसायीका संगठनहरुले उपभोक्ताको हितमा वकालत गर्नुपर्ने भन्दै महंगी अनुसारको सुविधा होटलहरुले नदिएकोले सुधार गर्नुपर्ने बताए । होटलमा कामगर्ने कर्मचारीले समयमै उचित तलव नपाएको प्रयाप्त गुनासो आफुसंग आउने गरेको उनको भनाई छ ।
एकै स्तरका होटल तथा रेष्टुरेण्टमा मुल्यमा पनि एकरुपता हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले पाँच तारे होटलहरु, रेष्टुरेण्टहरु र खाजाघरहरुमा पाइने सामग्रीको स्तर हेरेर मात्रै मुल्य निर्धारण गर्नुपर्ने बताए ।
उक्त बिषयमा व्यवसायीहरु सहमत भएका छन् । व्यवसायीक क्षेत्रका व्याक्तिहरु एकै बैठकमा बसेर मुल्य निर्धारण गर्न सहमत भएकाछन् । होटलको स्तर अनुसार मुल्य निर्धारण गर्ने र जसको जानकारी सरकारलाई गराउनमा व्यवसायी सहमत भएकाहुन् । जसका लागि छिट्टै बैठक बोलाउने सहमती भएको छ । मन्त्री भण्डारीले एकै स्तरका होटलमा फरक–फरक मुल्यसूचि देखाउदैँ व्यवसायीलाई छलफलका लागि आह्वान गरे ।
व्यवसायीले गरिरहेको अनियमीतताबारे प्रयाप्त गुनासो आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।
अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनमा कडाई गर्नुका साथै कालोबजारी नियन्त्रण, कृतिम अभाव हटाई गुणस्तरहिन उपभोग्य बस्तुको आपूर्तिका लागि पहल गरेको छ ।
लामो दुरीको बसका यात्रुहरुलाई खाना खुवाउनका लागि राजमार्ग क्षेत्रमा सञ्चालीत होटलहरुमा अनुगमन कडाईगर्न मन्त्री भण्डारीले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

