काठमाडौं । व्यवसायीहरूले नेपालले सूचना प्रविधि (आईटी) क्षेत्रको विस्तार र उत्पादनमूलक उद्योगमा लगानी वृद्धि गर्न सके ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताएका छन्। नेपाली कांग्रेस उद्यमशीलता तथा साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन अन्तर्गत ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण’ विषयक प्यानल डिस्कसनमा व्यवसायीहरूले यस्तो धारणा राखेका हुन्।
नेपाल एशोसिएसन अफ सफ्टवेयर एण्ड आईटी सर्भिसेज (नास आईटी) का उपाध्यक्ष गौरव पाण्डे ले आईटी क्षेत्र नेपालका लागि ठूलो सम्भावनायुक्त क्षेत्र भएको बताउँदै करिब १ लाख नेपाली युवा यस क्षेत्रमा आबद्ध रहेको जानकारी दिए। उनका अनुसार सरकारले सही नीति निर्माण गरी बैंकिङ सुविधामा सुधार ल्याए वार्षिक १० खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने छ।
गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी राना ले उत्पादनमूलक उद्योगमा लगानी बढाउनु आवश्यक रहेको बताइन्। उनका अनुसार नेपालमा करिब १५ सय वटा फुटवेयर कम्पनी सञ्चालनमा छन्, जसमा करिब ५० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उनले बैंकको उच्च ब्याजदरले व्यवसायलाई चुनौतीपूर्ण बनाएको उल्लेख गर्दै ट्रेडिङ र उत्पादनमूलक क्षेत्रका लागि फरक ब्याजदर हुनुपर्ने माग गरिन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ ले सरकारले हालै विभिन्न कानुनी संशोधनसहित अध्यादेश ल्याउँदा निजी क्षेत्र उत्साहित भएको बताए। उनले उद्योगी–व्यवसायीको मनोदशा सुधार्न नीतिगत स्थिरता र निरन्तरता आवश्यक रहेको उल्लेख गरे।
नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली ले विश्वभर ९०–९५ प्रतिशत स्टार्टअप असफल हुने बताउँदै बैंकहरूले स्टार्टअपमा लगानी गर्न कठिनाइ भोग्ने धारणा राखे। उनले सरकारी स्रोत, भेन्चर क्यापिटल तथा पारिवारिक लगानीमार्फत स्टार्टअपले सुरुवात गर्नुपर्ने सुझाव दिए।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल ले स्टार्टअप र उद्यमशीलताको प्रवर्द्धनका लागि सरकारको नीति, शिक्षा, तालिम र बैंकिङ सर्पोट आवश्यक रहेको बताए। उनले सहुलियतपूर्ण कर्जा प्रणालीलाई प्रभावकारी बनाउने आवश्यकता रहेकोमा जोड दिए।
नेपालमा सूचना प्रविधि, उत्पादनमूलक उद्योग, र स्टार्टअप प्रवर्द्धन गर्न सरकारले सही नीति अवलम्बन गरे वैदेशिक मुद्रा आर्जन बढाउनुका साथै लाखौं युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने व्यवसायीहरूको निष्कर्ष छ।

