२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्री बालेनको सचिवालयमा २५ जना, तीनलाई...

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ जना, तीनलाई मन्त्रीसरह सुविधा, अरु कसले पाउँछन् कस्तो सुविधा ?

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ जना, तीनलाई मन्त्रीसरह सुविधा, अरु कसले पाउँछन् कस्तो सुविधा ?

शुक्रवार, आश्विन १६ २०८३१२:४४
शुक्रवार, आश्विन १६ २०८३१२:४४
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा कार्यरत २५ जना पदाधिकारी तथा कर्मचारीको नामावली र सेवा–सुविधाको विवरण सार्वजनिक भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री शाहले पदभार सम्हालेको करिब सात महिनापछि आफ्नो आधिकारिक वेबसाइटमार्फत सचिवालयको संरचना र पदाधिकारीको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सचिवालयमा चार जना सल्लाहकार, एक जना विज्ञ र २० जना स्वकीय सचिवालयतर्फका पदाधिकारी तथा कर्मचारी छन्।

    सल्लाहकारतर्फ कुमार ब्यञ्जनकार मुख्य राजनीतिक सल्लाहकार र असिम शाह राजनीतिक सल्लाहकार छन्। दुवैलाई मन्त्रीसरहको सेवा–सुविधा उपलब्ध गराइएको छ। ब्यञ्जनकारको पद भने अवैतनिक रहेको विवरणमा उल्लेख छ।

    त्यस्तै, प्रा.डा. जगदिशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकार छन्। उनी पनि अवैतनिक स्वास्थ्य सल्लाहकारका रूपमा कार्यरत रहे पनि मन्त्रीसरहको सेवा–सुविधा पाउने विवरणमा उल्लेख छ। यससँगै मन्त्रीसरह सुविधा पाउनेको संख्या तीन पुगेको छ।

    सुदीप ढकाललाई नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्रलाई सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको जिम्मेवारी दिइएको छ। उनीहरूले राज्यमन्त्रीसरहको सेवा–सुविधा पाउने व्यवस्था गरिएको छ।

    स्वकीय सचिवालयतर्फ सुवाष शर्मा प्रमुख स्वकीय सचिवका रूपमा छन्। नवीन भण्डारी स्वकीय सचिव तथा सञ्जीव पाण्डे, दीपा दाहाल, सन्तोष गिरी र विश्व राई सहसचिवसरहको जिम्मेवारीमा रहेका छन्। त्यसैगरी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य उपसचिवसरहको जिम्मेवारीमा छन्।

    सचिवालयमा नागरिक उड्डयनतर्फ सुमन गौतम र भाषा तथा मस्यौदातर्फ रवि किरण अधिकारी सहायक विज्ञका रूपमा छन्। प्रेस सहजकर्ता, ग्राफिक्स डिजाइन, अनुसन्धान, भिडियोग्राफी तथा प्रशासनिक कामका लागि पनि कर्मचारीहरू कार्यरत रहेको विवरणमा उल्लेख छ।

    प्रधानमन्त्री कार्यालयले सचिवालयका पदाधिकारी तथा कर्मचारीको नाम, जिम्मेवारी र सेवा–सुविधासम्बन्धी विवरण सार्वजनिक गर्नुको उद्देश्य पारदर्शिता प्रवर्द्धन गर्नु रहेको जनाएको छ। यससँगै प्रधानमन्त्रीको सचिवालयमा रहेका पदाधिकारीको जिम्मेवारी तथा उनीहरूले पाउने सुविधाबारे औपचारिक विवरण सार्वजनिक भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend