२०८३, मंसिर ७ गते

  • राजनीति
  • नेपालले मागेकोभन्दा ४० अर्ब बढी सहयोग...

नेपालले मागेकोभन्दा ४० अर्ब बढी सहयोग घोषणा, ऋण र अनुदानको हिस्सा अझै अस्पष्ट

नेपालले मागेकोभन्दा ४० अर्ब बढी सहयोग घोषणा, ऋण र अनुदानको हिस्सा अझै अस्पष्ट

images
सोमवार, मंसिर ७ २०८३०२:१०
सोमवार, मंसिर ७ २०८३०२:१०
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । तर, उक्त रकममध्ये कति सहुलियतपूर्ण ऋण र कति अनुदान हुने भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।

    नेपालले भारतसँग कुल २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो । त्यसमा १ खर्ब भारु सहुलियतपूर्ण ऋण र १ खर्ब भारु अनुदान उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । भारतले नेपालले माग गरेभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको हो ।

    नेपालले प्रस्ताव गरेको अनुदान रकममध्ये ५० अर्ब भारु रसुवामा बाढीपहिरोबाट भएको क्षतिपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि थप ५० अर्ब भारु अनुदान माग गरिएको थियो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरिएको सहयोग कुन परियोजनामा कति खर्च हुने भन्ने स्पष्ट पारेका छैनन् ।

    भारतले यसअघि पनि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट (एलओसी) घोषणा गरिसकेको छ । तर, तीमध्ये ठूलो रकम उपयोग हुन सकेको छैन । नेपालले दुई वर्षअघि सन् २०२४ मा भारतले प्रतिबद्धता जनाएको ९० करोड अमेरिकी डलर बराबरको एलओसी उपयोग हुन नसकेपछि रद्द गरेको थियो ।

    यसअघि सन् २०१४ मा तत्कालीन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतले १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेको थियो । सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि उक्त सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित गरिएको थियो ।

    त्यसमध्ये २५ करोड अमेरिकी डलर अनुदान र ७५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको थियो । अनुदानतर्फको २५ करोड डलर भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ७५ करोड डलरको ऋणमध्ये करिब ५ करोड डलर मात्रै उपयोग हुन सकेको थियो ।

    भारतको एलओसीअन्तर्गत निर्माण हुने आयोजनामा ७५ प्रतिशत वस्तु तथा सामग्री भारतबाटै खरिद गर्नुपर्ने प्रावधान छ । यही सर्तका कारण भारतले घोषणा गरेको ऋणको ठूलो हिस्सा उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । स्रोतका अनुसार भारतले घोषणा गरेको सहयोगमध्ये करिब ८५ अर्ब भारु बराबरको ऋण अझै उपयोग हुन सकेको छैन ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार नेपालले यसअघि उपयोग हुन नसकेको ९० करोड अमेरिकी डलरको एलओसी रद्द गरेपछि त्यसमा करिब १० करोड डलर थप गरी १ खर्ब भारुको नयाँ ऋण सहयोग घोषणा गर्न भारतसँग आग्रह गरेको थियो ।

    ‘पहिल्यै प्रतिबद्धता गरिएको ९० करोड डलर खर्च हुन नसकेपछि नेपालले सन् २०२४ मा रद्द गरेको थियो । त्यसमा करिब १० करोड डलर थपेर १ खर्ब भारुको एलओसी घोषणा होस् भन्ने हाम्रो अनुरोध थियो । त्यसमा भारत सहमत हुने अपेक्षा थियो । तर, अनुदान रकम भने घटाएर मात्रै सहमति भयो,’ स्रोतले भन्यो ।

    भारतको पछिल्लो घोषणाले नेपालका लागि पूर्वाधार विकास तथा पुनर्निर्माणमा थप आर्थिक स्रोत उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपि, सहयोगको ऋण र अनुदानको वास्तविक अनुपात तथा कार्यान्वयनका सर्त सार्वजनिक भएपछि मात्रै यसको प्रभाव स्पष्ट हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend