२०८३, मंसिर ७ गते

  • समाचार
  • मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमन्त्रीद्वयसहित...

मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमन्त्रीद्वयसहित ६ उच्चपदस्थ अधिकारी पक्राउ

मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमन्त्रीद्वयसहित ६ उच्चपदस्थ अधिकारी पक्राउ

images
बिहिवार, मंसिर ३ २०८३०७:२५
बिहिवार, मंसिर ३ २०८३०७:२५
  • images

    काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको आरोपमा पूर्वमन्त्रीद्वयसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्ने अन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख तथा सहसचिवद्वय उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानून अधिकृत एवं उपसचिव निर्मला गुरुङ रहेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा नेपाल सरकार वादी भई अघि बढाइएको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसूरमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

    सीआईबीका अनुसार नेपाल र मलेसियाबीच भएको श्रम समझदारी (एमओयू) विपरीत अधिकार क्षेत्र नाघेर गैरकानुनी रूपमा रकम असुली तथा विदेशी मुद्रा अपचलन गरिएको अनुसन्धानबाट खुलेको छ।

    अनुसन्धानका क्रममा मलेसिया जाने नेपाली श्रमिकबाट अमेरिकी डलर ८३ लाख ७० हजार ४३९.९२ र पाउन्ड स्टर्लिङ ३७ लाख १७ हजार ९८०.८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा सङ्कलन गरिएको पाइएको छ।

    उक्त रकम सङ्गठित समूहको लाभका लागि श्रमिकसँग गैरकानुनी रूपमा असुली गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप छ। पदीय जिम्मेवारी र कानुनी कर्तव्य पूरा नगरी ठगीलाई प्रश्रय दिएको तथा गैरकानुनी रकम पठाउने निर्णयमा भूमिका खेलेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ।

    काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबीले काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ परेका व्यक्तिहरूमाथि ठगीसम्बन्धी कसूर र सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

    यस प्रकरणमा थप अनुसन्धान तथा कानुनी कारबाही जारी रहेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend