काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित उपस्थित नभएको तथा स्वीकृति नलिई बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना कर्मचारीमाथि कारबाही गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार सेवाबाट हटाइएकामध्ये ६ जना लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेका थिए भने एक जना स्वीकृति नलिई बिदामा बसेका थिए ।
कार्यालयमा हाजिर नभएको कसुरमा कारबाहीमा पर्नेहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल रहेका छन् । त्यस्तै, स्वीकृति नलिई बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको सूचनाअनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा ९१० अन्तर्गतको व्यवस्थाबमोजिम उनीहरूमाथि कारबाही गरिएको हो ।
कात्तिक २० गतेको निर्णयअनुसार सातै जनालाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्बन्धित कर्मचारीहरूको विवरणसहित सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णयबारे जानकारी गराएको हो ।

