काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यती एयरलाइन्सका सीईओ सुवास सापकोटाविरुद्ध गम्भीर सुरक्षा लापरवाहीको आरोप लगाउँदै जिम्मेवारी खोसेको छ ।
सीईओ सापकोटाले केही हवाई सुरक्षा नियमहरूको उल्लंघन गरेको र यात्रुहरूको सुरक्षा जोखिममा परेको उल्लेख गर्दै क्यानले एकाउन्टेबल म्यानेजर(जिम्मेवार व्यवस्थापक) को जिम्मेवारी खोसेको हो ।
यो कदम खासगरी यती एयरलाइन्सको व्यवस्थापनमा भएका सुरक्षा मापदण्डका उल्लंघन र नियमनको कडाइसँग निगरानी नगरेको कारण आएको हो ।
यतीको सीईओ भएपछि सापकोटाले एकाउन्टेबल म्यानेजरको जिम्मा पाएकोमा क्यानले मंसिर १८ गतेदेखि लागु हुनेगरी उनलाई निलम्बन गरेको हो ।
‘तपाइँका विषयमा यस प्राधिकरणमा विभिन्न माध्यमहरुबाट उडान सुरक्षामा प्रत्यक्ष असर पुर्याउन सक्ने अत्यन्तै संवेदनशील प्रकृतिका रिपोर्टहरु पटक-पटक प्राप्त भइरहेको सन्दर्भमा उक्त रिपोर्टहरुको प्रभावकारी अनुसन्धानार्थ प्राधिकरणको मंसिर १८ को निर्णणनुसार तपाइँलाई यती एयरलाइन्स लिमिटेडको उत्तरदायी प्रवन्धक (एकाउन्टेबल म्यानेजर) पदबाट अर्काे निर्णय नभएसम्मका लागि निलम्बन गरिएको छ’ क्यानले सापकोटालाई लेखेको पत्रमा भनिएको छ ।
पत्रमा उनका विरुद्ध प्राप्त भएका अन्यन्तै संवेदनशील प्रकृतिका रिपोर्ट के हुन भनेर खुलाइएको छैन् ।
यतीका कर्मचारी भने सीईओ सापकोटासँग उडान सुरक्षाको विषयमा सामान्य भन्दा पनि सामान्य विषयको समेत जानकारी नभएको बताउँछन् ।
‘उहाँ पेसाले चाटर्ड एकाउन्टेन हो । उहाँलाई पैसाको विषयमा मात्रै नलेज रैछ, अन्य सेक्टरभन्दा एभिएसन सेक्टर फरक क्षेत्र हो । हामीले उहाँलाई जानकारी गराउन खोजेका थियौँ, तर उहाँले आफूभन्दा तल्लो तहका कर्मचारीको कुरा नसुन्ने र भेट्न समेत नखेजेपछि समस्या उत्पन्न भएको हो’, ती कर्मचारीले भने ।
अनुभव नभएका मान्छेलाई एकाउन्टेबल म्यानेजरको जिम्मा दिनु नै दुखद् भएको उनको भनाई छ । क्यानले सापकोटालाई निलम्बन गरेसँगै यतीले तत्कालका लागि बिजनेश अफिसर युवराज कुमार विष्टलाई एकाउन्टेबल म्यानेजरको जिम्मा दिएको छ । विष्ट पनि उडान सुरक्षाका विषयमा त्यति धेरै जानकार व्यक्ति भने होइनन् ।
तर, उनले पछिल्लो समय आफू जानकार नभएको विषयमा पूराना कर्मचारीसँग सोधपुच्छ गरेर थप निर्णय गर्न थालेको कर्मचारीहरु बताउँछन् । सेफ्टी अपरेशनको बारेमा जानकारी नै नभएको सेल्सको मान्छेलाई एकाउन्टेबल म्यानेजरको जिम्मा दिएपछि यतीमा कार्यरत कर्मचारीहरु रुष्ट बनेका थिए ।
एयरलाइन्स कम्पनीमा कार्यकारी अधिकारसहित सम्पूर्ण घटनाको जिम्मेवारी लिने गरी एकाउन्टेबल म्यानेजर नियुक्त गरिएको हुन्छ । हाल सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अधिकांश एयरलाइन्स कम्पनी तथा हेलिकप्टर कम्पनीले सीईओलाई नै एकाउन्टेबल म्यानेजरको जिम्मेवारी दिने गरेका छन् ।
क्यानले तत्कालीन सीईओ अनोज रिमाललाई एकाउन्टेबल म्यानेजरको जिम्मेवारी दिएको थियो । नयाँ रणनीतिक साझेदार भित्रिएसँगै यतीले व्यवस्थापकिय टिम नै परिवर्तन गरिएको थियो । तत्कालीन सीईओ रिमाललाई हटाएर नयाँ सीईओ सापकोटालाई जिम्मेवारी दिएसँगै उनले नै एकाउन्टेबल म्यानेजरको जिम्मेवारी समेत लिएका थिए । उनी २०८० को असोज अन्तिम साता यती एयरलाइन्समा भित्रिएका थिए ।
२०५५ सालबाट ट्विनअअटर जहाजमार्फत उडान थालेको यतीले अहिले एटिआर जहाजमार्फत सुगम र भगिनी वायुसेवा तारा एयरमार्फत दुर्गममा उडान गरिरहेको छ ।
नयाँ साझेदारको खोजीमा शेर्पा समूह
रणनीतिक साझेदारको रुपमा एसियन लाइफ इन्स्योरेन्सलाई भित्र्यिाएको शेर्पा समूहले थप नयाँ साझेदारको खोजी गरेको पाइएको छ । सम्भव भएसम्म एसियनलाई हटाएर नयाँ भित्र्याउने, तत्काल त्यो नभए लगानीकर्ताका रुपमा नयाँ साझेदार भित्र्याउने तयारीमा यतीका कार्यकारी अध्यक्ष ल्हाक्पासोनाम शेर्पा लागिपरेका छन् ।
उनले थप जहाज खरिद गर्न रकम अभाव भएको भन्दै लगानीकर्ताको खोजी थालेको उनी निकट स्रोत बताउँछ् । स्रोतका अनुसार ४९ प्रतिशत सेयर लगानीकर्ता रहेको इन्स्योरेन्स कम्पनीलाई हटाउनेभन्दा पनि तत्कालका लागि नयाँ लगानीकर्ता भित्र्याएर जहाज खरिदमा उनी जुटेका हुन् ।
यो पनि हेर्नुहोस्
यती एयरलाइन्समा एसियन लाइफ भित्रिएपछि बबण्डर, फेरि फुटको संघारमा

